माओवादीको महाधिवेशनमा समुहगत छलफलको निष्कर्ष अन्तिम चरणमा

२०७८ पुष १५ गते, बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं राष्ट्रिय महाधिवेशनमा पार्टीको कार्यकारी पदमा कार्यकाल र उमेर हदको सिमा तोक्नुपर्ने माग उठेको छ ।

साढे तीन दशकदेखि पार्टीको नेतृत्वमा रहेका पुष्पकमल दाहाल प्रचण्डलाई निर्विकल्प अध्यक्षको रुपमा प्रस्तुत गरिररहेको माओवादी केन्द्रले कार्यकारी पदमा दुई कार्यकालको सीमा तोक्नुपर्ने माग प्रतिनिधिहरुले उठाएका हुन् ।

प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि भएको समूहगत छलफलमा दुई कार्यकालको सीमा र ७० वर्षको उमेर हदको माग उठेको हो ।

हिजो ११ वटा समूहले छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको टोलीले कार्यकारी पदमा दुई कार्यकाल मात्र रहन पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

नेकपा एमालेमा कार्यकारी पदमा दुई कार्यकालको सीमा र ७० बर्षे उमेर हद लागू भइसकेको छ । ७० वर्षे उमेर हदकै कारण २०७१ मा भएको नवौंं महाधिवेशनबाट भरतमोहन अधिकारी र सिद्धिलाल सिंह केन्द्रीय कमिटीबाट बाहिरिएका थिए भने हालै सम्पन्न दशौं महाधिवेशनबाट अमृत बोहोरा र सत्य नारायण मण्डल बाहिरिएका छन् ।

नेपाली कांग्रेसले पनि भर्खरै सम्पन्न १४औं महाधिवेशनबाट कार्यकारी पद (सभापति) मा दुई कार्यकालको सीमा लागू गरेको छ । उमेर हद तोक्नुपर्ने बहस भएपनि बैधानिक व्यवस्था गरेको छैन । माओवादीमा भने कार्यकाल र उमेर हदको कुनै सीमा छैन ।

310 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal