माओवादीबाट निर्वाचित वडा अध्यक्ष काँग्रेसमा प्रवेश

२०७८ माघ १६ गते, आईतवार

काठमाडौं । रौतहटको फतुवा बिजयपुर वडा ६ का माओवादी पार्टीबाट निर्वाचित वडा अध्यक्ष हीरालाल यादव पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेस फतुवा विजयपुर नगर कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी माओवादी परित्याग गर्दै काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेस फतुवा विजयपुर नगर कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि काँग्रेस मधेस प्रदेश सभापति कृष्णा यादवले वडा अध्यक्ष यादव र उनीसँगै काँग्रेसमा प्रवेश गरेका उनका समर्थकहरुलाई माला र टिका लगाई स्वागत गरेका थिए ।

पहिले जनयुद्धको नाउँमा र अहिले विभिन्न भ्रम तथा आश्वासन बाँडेर माओवादीले मधेसी समुदायलाई ठग्ने मात्र काम गरेकाले पार्टी छोडेको वडा अध्यक्ष हीरालाल यादवले प्रतिक्रिया दिए।

यस्तै केही दिनअघि अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश गरेकी थिइन् । एमालेबाट उपाध्यक्षमा निर्वाचित गौतम दुर्गाफाँटमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस प्रवेश गरेकी हुन् ।

उनलाई कांग्रेस महामन्त्री गगन थापाले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा अन्य पार्टीका नेता कार्यकर्ता पनि प्रवेश गरेको अर्घाखाँची कांग्रेसले जनाएको छ । गौतमसहित करिब १५० जना एमाले र माओवादी छाडेर कांग्रेस प्रवेश गरेको कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले बताए । लामो समय एमालेको राजनीतिमा सक्रिय सही जिल्ला सदस्यसमेत भएकी लक्ष्मी गौतम स्थानीय तहको निर्वाचनमा शिक्षकबाट राजीनामा दिएर एमालेबाट गाउँपालिका उपाध्यक्षमा विजयी भएकी हुन् ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका अच्युत गौतम र उपाध्यक्षमा लक्ष्मी विजयी भएका थिए । ‘मेरो विगतको पृष्ठभूमि एमाले भए पनि कम्युनिस्ट पार्टीमा विचलन आएकाले म कांग्रेसमा प्रवेश गरेकी हुँ,’ उनले भनिन् । आमसभामा महामन्त्री थापा, केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुष्पा भुसाल, केन्द्रीय सदस्य सञ्जय गौतमलगायतले सम्बोधन गर्ने गरेका थिए ।

254 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal