माघ १९ अर्थात् नेपालको प्रजातान्त्रिक आन्दोलनको कालो दिन

२०७८ माघ १९ गते, बुधबार

काठमाडौं । आज माघ १९ गते। तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन व्यवस्था आफ्नो हातमा लिएको दिन। यो दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिन्छ।

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिने घोषणा गर्दै शाही घोषणा गरेका थिए। आफैँले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम भन्दै ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा मन्त्रिपरिषद् गठनको घोषणा गरेका थिए।

दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए भने रेडियोमा समाचार रोक लगाइएको थियो। राजनीतिक दलका नेतालाई नजरबन्दमा राखिएको थियो। राजाको उक्त कदम धेरै दिन टिकेन।

ज्ञानेन्द्रको यस कदमले जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरुलाई एकजुट बनायो। दलहरु राजाको उक्त प्रत्यक्ष शासनको विरुद्ध एकजुट भए र आन्दोलन चर्कियो।

२०६२–०६३ को जनआन्दोलनको सुत्रपात पनि यहि दिनको कदम मानिन्छ। २०६२ मंसिरमा दिल्लीमा द्वन्द्वरत माओवादी र तत्कालीन सात दलबीच १२ बुँदे समझदारी भएको थियो। जसमा ‘निरङ्कुश राजतन्त्रविरोधी सम्पूर्ण शक्तिहरुले निरङ्कुश राजतन्त्रकाविरुद्ध आ–आफ्ना ठाउँबाट प्रहार केन्द्रित गर्दै देशव्यापी लोकतान्त्रिक आन्दोलनको आँधीबेहरी निर्माण गरेर पूर्ण लोकतन्त्र स्थापना गर्ने’ उल्लेख थियो।

त्यसपछि माओवादीसहित ८ राजनैतिक शक्तिले राजसंस्था विरुद्ध आन्दोलन गरेका थिए। त्यहि आन्दोलनको सफलतापछि २ सय ३८ वर्षीय राजसंस्थाको अन्त्य भएको थियो।

तर निरंकुश राजसंस्था अन्त्य भएको लामो समय भइसक्दा समेत मुलुक संक्रमणकालबाट अगाडि बढ्न सकेको छैन। विकास निमार्णका कार्यले गति लिन सकेका छैनन्। भ्रष्टाचार रोकिएको छैन भने जनताको जीवनस्तर माथि उठ्न सकेको छैन।

तत्कालीन राजा ज्ञानेन्द्र अहिले आम नागरिकका रुपमा रहे पनि उनी विभिन्न ठाउँमा जाँदा ‘राजा आउ देश बचाउ’ नारा लागिरहन्छ। अहिले देशमा फेरि आन्दोलन शुरु भएको छ। १७ वर्षपछि अहिले उनै देउवा अहिले सरकारको नेतृत्व गरिरहेका छन्।

127 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal