अमेरिकाले रुसलाई जबर्जस्ती युद्धमा धकेल्न खोजेको रुसी राष्ट्रपति पुटिनको आरोप

२०७८ माघ १९ गते, बुधबार

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामाथि रुसलाई जबर्जस्ती युद्धमा धकेल्न खोजेको आरोप लगाउनु भएको छ ।

रुस र अमेरिकाबीच युक्रेनलाई लिएर भईरहेको तनावका बीच मुख खोल्दै राष्ट्रपति पुटिनले कुनै पनि बहाना मार्फत रुसलाई युद्धमा धकेल्नु अमेरिकाको उद्देश्य भएको भन्दै युक्रेन विवादमा पनि त्यही गर्न खोजेको जिकीर गर्नुभयो ।

राजधानी मस्कोमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको वार्तापछि संचारकर्मीहरुसँग कुरा गर्दै पुटिनले युरोपमा बढ्दो नेटो गतिविधि सम्बन्धि रुसको सरोकारको पनि अमेरिकाले बेवास्ता गरेको बताउनुभयो ।

अमेरिकाको चासो युक्रेनको सुरक्षा भन्दा पनि रुसलाई अल्झाईरहने हो भन्दै उहाँले युक्रेन पनि अमेरिकी मोहोरा बनेको आरोप लगाउनुभयो ।

यदि युक्रेनलाई नेटोमा सामेल हुन दिने हो भने नेटोका अन्य सदस्यहरु पनि रुससँगको युद्धमा तानिने पुटिनको स्पष्ट भनाइ छ । “मान्नुस कि युक्रेन नेटोमा सामेल भयो र क्राइमियालाई पुनः प्राप्त गर्न सैन्य अपरेसन शुरु भयो भने के होला ? यसतर्फ कसैले सोचेको छ ?” रुसी नेताले चेतावनीको स्वरमा भन्नुभयो ।

यसैबीच, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसले आक्रमण गरेमा युक्रेनले पनि प्रतिवाद गर्ने बताउनुभएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग युक्रेनी राजधानी कीभमा भएको वार्तापछि जोन्सनले युद्धका लागि युक्रेनी जनताले पनि कठोर तयारी गरिरहेको बताउनुभयो ।

त्यस्तै, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि युक्रेन र रुसबीच नभई रुस र सिंगो युरोपबीच युद्ध हुनसक्ने बताउनुभयो ।

116 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal