मेलम्ची बाढीबाट क्षतिग्रस्त विद्यालयका लागि १२ लाख सहयोग

२०७८ माघ २१ गते, शुक्रबार

सिन्धुपाल्लचोक । गत असार १ गते र त्यसपछिका दिनमा आएको बाढीका कारण भौतिक संरचनामा आंशिक क्षति भई उच्च जोखिममा रहेको मेलम्ची नगरपालिका- ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयलाई अत्याधुनिक प्रविधियुक्त फिल्टरसहितको शुद्ध पिउने पानी व्यवस्थापन गरेर विद्यालयको भौतिक पुनःव्यवस्थापनका निम्ति रु १२ लाख २५ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

मेलम्ची–४ थकनी निवासी हाल इटालीमा बस्दै आउनुभएका रवीन्द्र अर्यालको संयोजनमा गरिमा भोयज ट्राभल एण्ड टुर्स प्रालि र न्यूभिजन नेपालमार्फत उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल एवं मेलम्ची–६ का वडाध्यक्ष जीतराज थापा र न्यूभिजन नेपालका अध्यक्ष अशोक शर्माको आतिथ्यतामा विद्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच बिहीबार सहयोग हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्व सामाजिक विकासमन्त्री दुलालले बाढीपश्चात तत्काल संरक्षणका लागि विद्यालयले गरेको प्रयासको प्रशंसा गर्दै बाढीग्रस्त क्षेत्रको पुनःनिर्माणका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वय गरी ठोसरूपमा गराउन आफू निरन्तर लागिपरेको बताउनुभयो ।

विद्यालयका पूर्वप्रधानाध्यापक वडाध्यक्ष थापाले सहयोगीप्रति धन्यावाद दिनुभएको थियो भने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ढुङ्गानाले विद्यालयको संरक्षण र पुनःव्यवस्थापनमा सहयोगको उच्च प्रशंसा गर्दै सहयोगलाई उचित सदुपयोग गर्दै पारदर्शी र मितव्ययी ढङ्गबाट परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

259 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal