व्यापक अनियमितता भएको भन्दै कारबाहीको माग

२०७८ माघ २८ गते, शुक्रबार

संखुवासभा । चैनपुर नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै सङ्खुवासभाका चार राजनीतिक दलले पत्रकार सम्मेलन गर्दै कारबाहीको माग गरेका छन्।

चैनपुर नगरपालिका नगरप्रमुख भरतकुमार खत्री सहित नगरपालिका नेतृत्वले अनियमितता गरेको आरोप लागेका छन्। नगरपालिकामा करोडौंको अनियमितता भएको भन्दै राजनीतिक दलहरू र नगरवासीले विरोध जनाएका छन्।

चैनपुर नगरपालिकामा रहेका नेकपा एमाले बाहेकका चार दलले महालेखा परीक्षकको प्रतिवेदन देखाउँदै विरोध गरेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादी पार्टी र स्थानीयले चैनपुरमा बिहीबार पत्रकार सम्मेलन गर्दै विरोध जनाएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक टेकमान राईले चाँडै बेरुजु रकम फिर्ता गर्दै कानुनी कारबाही भोग्नुपर्ने बताएका छन्।

जनप्रतिनिधिले नियम विपरीत रकम लिने अनि मलेपको प्रतिवेदनलाई नै बेवास्ता गरी फिर्ता नगर्ने प्रवृत्ति खराब रहेको नेपाली कांग्रेसका जिल्ला सचिव कुमारबाबु अधिकारीले बताए।

नेकपा समाजवादीका नेता उमेशकुमार डाँगीले प्रतिवेदन आइसकेपछि पनि सुध्रिएलान् भनेर छोड्दा ३ वर्षमा करोडौंको भ्रष्टाचार भएको बताएका छन्।

नगरप्रमुख नै आर्थिक अपचलनमा सक्रिय भएको स्थानीयको आरोप छ। नगरप्रमुखले व्यक्तिगत प्रयोजनका लागि लाखौं रकम पेश्की लिएको, चीन भ्रमणमा नियम विपरीतको रकम लिएको, अनुदान वितरण, खेलकुद कार्यक्रम सञ्चालन, नदीजन्य उत्खननबाट प्राप्त कर, ठेकेदार कम्पनीसँगको मिलेमतोमा रकम लिने गरेको आरोप लागेको छ।

नगरपालिकाबाट मेयरका निजी स्वकीय सचिवका नाममा जम्मा गरेको रकम समेत बेरुजु आउनुमा झनै शंका थपेको छ।

यो विषयमा नगरप्रमुख खत्रीले तत्काल उत्तर दिन नसक्ने बताए। प्रतिवेदन अध्ययन गरेर आवश्यक भए पत्रकार सम्मेलन नै गरेर जानकारी गराउने उनले बताएका छन्।

281 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal