सुन तस्करी तथा सनम हत्या प्रकरण

२०७८ फाल्गुन ४ गते, बुधबार

विराटनगर । करीब ३८ क्वीन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा जोडिएका जना पक्राउ परेका छन्। मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीका अनुसार मोरङको उर्लाबारी नगरपालिका–३ (साविकको उर्लाबारी–५) घर भएका ३९ वर्षीय सन्दीप खड्का पक्राउ परेका हुन्। उनलाई काठमाडौंको गौशालाबाट प्रहरीले मंगलबार पक्राउ गरेको हो। खड्कालाई मोरङ ल्याएर बुधबार सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरिएको एसपी जीसीले बताए।

उनीविरुद्धको मुद्धाको छिनोफानो मोरङ अदालतले गर्ने छ। दुवईमा बसेर उनले तस्करीको सुन नेपालतर्फ पठाउने गरेको अनुसन्धानबाट खुलेको थियो। खड्कासँग अदालतले बिहीबार बयान लिएपछि वादी नेपाल सरकार र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच थुनछेक बहस हुने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।

सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको फैसला जिल्ला अदालत मोरङले गत असोज १९ गते गरेको थियो। त्यतिबेला पक्राउ परेका उच्च प्रहरी अधिकारीसहितका ५६ अभियुक्तमध्ये ८ जनालाई दोषी ठहर गर्दै र ४८ जनालाई सफाइ दिँदै न्यायाधीश भरत लम्सालको इजलासले मुद्दाको फैसला गरेको हो। अदालतले कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैदको सजाय सुनाएको थियो।

मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाइएको हो। प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो। अपहरण तथा शरीर बन्धक मुद्दामा समेत कसूर कायम गर्दै अदालतले गोरेलाई सजाय पनि निर्धारण गरिसकेको छ।

तस्करी गरेर दुबईबाट २०७४ साल माघ ९ गते काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाएको आरोपमा गोरेको समूहले सनमको हत्या गरेको हो। २०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै मोरङको उर्लाबारी नगरपालिका–१ मा सनमको हत्या गरिएको भिडियो पनि सार्वजनिक भएको थियो। हत्याको अनुसन्धान गर्दा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा लगभग ३८ क्वीन्टल सुन तस्करी भएको पत्ता लागेको दाबी सरकार पक्षको थियो।

सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरियो।

हत्यामा संलग्नलाई दोषी ठहर गरे पनि अदालतले सुन तस्करीमा संलग्न भनिएकाहरु सबैलाई सफाइ दिएको छ। प्रमाणकारुपमा पेस गर्नुपर्ने सुन बरामद नभएपछि तस्करीमा संलग्न भनिएकाहरु सबैले मुद्दामा सफाइ पाएका हुन्।

293 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal