कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले नजाने

२०७८ फाल्गुन ६ गते, शुक्रबार

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने जनाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आज बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने जानकारी दिए ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भए पनि एमालेले आफ्ना अडान यथावत रहेको जनाएको हो । भट्टराईका अनुसार प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीले एमसीसीका सवालमा सत्तारुढ गठबन्धनको साझा धारणा प्रस्ट पार्न सुझाव दिएका थिए । सत्तारुढ गठबन्धनको साझा धारणा आएपछि मात्र एमालेले एमसीसीका बारेमा आफ्नो धारणा ल्याउने ओलीको भनाइपछि प्रधानमन्त्री देउवा थप अन्योलमा परेका छन् ।

शुक्रबारका लागि प्रतिनिधिसभा बैठक आह्वान भइसकेको छ । बैठकको कार्यसूचीबारे छलफल गर्न बस्न लागेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत एमाले अनुपस्थित हुने भएपछि सरकारलाई एमसीसीको प्रक्रिया अघि बढाउन थप चुनौती बढेको छ । एमालेले लामो समयदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

218 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal