एमसीसी अनुमोदन गर्नु महाभूल हुनेछ, अकल्पनीय परिणाम आउन सक्छ: नेत्रविक्रम चन्द (विप्लव)

२०७८ फाल्गुन ९ गते, सोमबार

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले एमसीसी अनुमोदन गर्ने गल्ती गरेमा नेपाली कांग्रेस र त्यसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अकल्पनीय परिणाम भोग्ने चेतावनी दिएका छन् ।
नेता चन्दले भने, “सिद्धान्ततः हामी विदेशी सहयोग, अनुदानको विरोधी होइनौं । तर राष्ट्रघाती प्रावधान नभएको भए एमसीसी देशको हितमा उपयोग गर्न पनि सकिन्थ्यो

। तर विश्व राजनीतिको अन्तरविरोधमा खेल्ने र नेपाललाई स्वार्थअनुकूल प्रयोग गर्न खोजेकाले यसको लोकतन्त्रवादी र प्रगतिशील शक्ति लामो समयदेखि प्रतिरोधमा छन् । यथास्थितिमा एमसीसी अनुमोदन गर्ने गल्ती गरेमा नेपाली कांग्रेसले दुर्दशा भोग्नुपर्ने हुन्छ । र त्यसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अकल्पनीय परिणाम भोग्ने भोग्ने सम्भावना हुन्छ । देशले पनि दुःख पाउँछ ।”


एमसीसीको विरोध कम्युनिस्ट मात्र नभएर गैरकम्युनिस्ट शक्तिले पनि गरिरहेको उनको दाबी छ । चन्दले थपे, “एमसीसी अगाडि डलर देखाएर पछाडि बन्दुक र हैकम जमाउने दाउमा छ । तर यसलाई राजनीतिक रंग दिन खोजेको देखियो । पहिलो कुरा त कम्युनिस्ट र गैरकमयुनिस्टको कुरा होइन । यो कम्युनिस्ट र कांग्रेसको कुरा पनि होइन । यो त तीन करोड नेपाली जनताको स्वाधीनता र सार्वभौमसत्तासँग जोडिएको मुद्दा हो । यसको विरोधमा कम्युनिस्टमात्र होइनन्, नेपाली कांग्रेसभित्रै पनि असन्तुष्टि छ । यो आन्दोलन कांग्रेसविरुद्ध होइन । विदेशी हस्तक्षेप विरुद्धमा हो । हामीले झगडा गर्ने मात्र होइन, राष्ट्रिय मुद्दामा मिल्न पनि सक्नु पर्यो ।”


सरकार बसेका तर सडक प्रदर्शनमा उत्रिएका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पनि उनले एमसीसी अनुमोदन गर्नु महाभूल हुने चेतावनी दिए । उनले थपे, “जनताको चाहना र देशको हित मुख्य कुरा हुन्छ । प्रचण्ड र माधवकुमार नेपालजीमा अहिले द्वैधवादी र अवसरवादी चरित्र देखा परेको छ । प्रचण्डले शान्ति प्रक्रिया सुरु भएदेखि नै अन्तिममा गएर पार्टी र देशको हितलाई छाड्ने गल्ती गर्नुभएको छ । सामान्य अवस्थामा विरोध गर्ने, निष्कर्षमा पुर्याउन नसक्ने हो भने त्यसको औचित्य रहँदैन । एमसीसीमा पनि सरकार देश र जनताको हित छाडन् महाभूल हुनेछ । उनीहरुलाई राष्ट्रघात गर्ने अधिकार छैन ।”
नेपाललाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको खेल मैदान बन्न नदिन सत्ता साझेदार पार्टीले हेक्का राख्नुपर्ने उनले औंल्याए । चन्दले भने, “एमसीसी अमेरिका र चीनको कुरा होइन, अमेरिका र नेपालको कुरा हो ।

आर्थिक परियोजना नभईकन आईपीएसको अंग बनाएकाले एमसीसी अनुमोदन गर्दा नसोचेको परिस्थिति बन्न सक्छ । यस्तो डरलाग्दो सम्झौता गरेर देशलाई खेल मैदान बनाउन पाइँदैन ।”
कम्युनिस्टहरु जहिल्यै विदेशी सहयोगको विरोध गर्छन्, विकास आयोजनाको विरोध गर्छन्, अब देशलाई कंगाल बनाउने कि विकास गर्ने ? विदेशीको इसारामा चल्ने कि आफ्नै स्वार्थमा निर्णय गर्ने भन्ने चन्दले थपे, “हामीलाई पनि देशमा शान्ति, विकास, समृद्धि र स्वाधीनता चाहिएको हो ।

हामी त्यसैका लागि लडेका हौं । विदेशी अनुदानले मात्र देश बन्दैन । आफ्नो लाखौं जनशक्तिलाई विदेश पठाएर लाहुरे, दरवान, भिखारी प्रवृत्ति नछाड्ने हो भने कुनै पनि देश माथि उठ्दैन । आफ्नो खुट्टामा माथि नउठाएसम्म देश उँभो लाग्दैन ।

138 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal