नेपाल–भारत जमुनाह नाका आजदेखि ६० घण्टा बन्द हुने

२०७८ फाल्गुन १३ गते, शुक्रबार

बाँके । नेपालगञ्जमा रहेको नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ ।

भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जमा रहेको जमुनाह नाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमवार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द गरिने छ । सीमानाकामा ६० घण्टासम्म गाडी र पैदलयात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ ।

निर्वाचन प्रयोजनका लागि रुपइडिहालगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाउनुका साथै सिमानामा एक हप्ता अघिदेखि नै सुरक्षा जाँचमा समेत कडा पारिएको छ । आपात्कालीन सेवाबाहेक अन्य कुनै पनि गाडी र पैदलयात्रुलाई समेत आवागमनको छुट नहुने प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

121 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal