एमसीसीकै कारण सत्ता गठबन्धन टुट्ने खतरा बढेको प्रचण्डको जिकिर

२०७८ फाल्गुन १४ गते, शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसीसीकै कारण वर्तमान सत्ता गठबन्धन टुट्ने खतरा बढेको बताउनुभएको छ ।

उहाँले आफूहरु प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् भन्ने पक्षमा प्रयासरत रहेको र अन्तिम उपाय खोजिरहेको समेत बताउनुभयो ।

माओवादी सशस्त्र द्वन्द्वका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति तथा सहिद सप्ताहको स्मृतिमा आज पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिलेको सत्ता गठबन्धन राष्ट्रियता, संविधान र लोकतन्त्र बचाउन बनेको दाबी गर्नुभयो ।

उहाँले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति कमस खाएर बनेको सत्तारुढ गठबन्धन टुटाएर कुनै पनि खालको प्रतिगमनकारी गठबन्धन हावी हुने अवस्था नआओस् भनेर आफूहरुले सक्दो प्रयास गरिरहेको बताउनुभयो ।

एमसीसी परियोजना यथास्थितिमा पारित हुन नदिने विषयमा आफूहरुले सुरुदेखि नै प्रष्ट धारणा राख्दै आएको भन्दै अध्यक्ष दाहालले त्यसैलाई उपयोग गरेर प्रतिगमनकारी शक्तिहरुले सत्तारुढ गठबन्धन टुटाउने प्रयास गरिरहेको दावी गर्नुभयो ।

गठबन्धन र सरकार बनिसकेपछि पनि न्यूनतम साझा कार्यक्रममा कहीँ पनि एमसीसीको चर्चा नगरिएको उहाँको भनाई छ ।

कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वका प्रथम सहिद रम्तेलको स्मृतिमा अक्षय कोष बनाउने घोषणा समेत गर्नुभएको छ ।

150 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal