विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान हो: राष्ट्रपति भण्डारी

२०७८ फाल्गुन १९ गते, बिहीबार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामथ्र्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताउनुभएको छ ।

शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले आज दिनुभएको शुभकामना सन्देशमा यस्ता पर्वका माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई हाम्रो बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने बताउनुभएको छ ।

हाम्रो देश नेपाल जसरी भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त छ, त्यसैगरी सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित छ भन्दै सन्देशमा राष्ट्रपतिले हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग भएको उल्लेख गर्नुभएको छ । ग्याल्पो ल्होसार पर्वले सबै नेपालीमा नयाँ उत्साह र उमङ्ग छर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उहाँले सन्देशमा गर्नुभएको छ ।

258 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal