बर्डफ्लु संक्रमित क्षेत्रबाट ४०० कुखुरा नष्ट गरियो

२०७८ फाल्गुन १९ गते, बिहीबार

पोखरा । पोखरामा बर्डफ्लु भेटिएपछि पन्छी र पन्छीजन्य पदार्थको नष्ट गर्न थालिएको छ । बुधबार मात्रै ४ किल्ला भित्रका पन्छी र पन्छीजन्य पदार्थ नष्ट गर्ने काम सुरु गरिएको हो । संक्रमण देखिएको फार्मलाई नै इपिसेन्टर मानेर चार किल्ला निर्धारण गरिएको जिल्ला बर्डफ्लु नियन्त्रण कक्षले जनाएको छ ।

वडा नम्बर १५ र १७ मा ३९ घरधुरीका ३८१ वटा स्थानीय कुखुरा मारिएको छ । यस्तै, १२ वटा हास, ५१ बट्टाई, ५ वटा टर्की, ५०९ वटा अन्डा, २२ केजी कुखुराको मासु, ३२२ किलो दाना र ३ हजार ८५० किलो सुली नष्ट गरिएको छ । कक्षका सन्चार अधिकृत गृष्म न्यौपानेका अनुसार सन् २०१९ पछि अहिले पुनः वर्डफ्लु देखिएको हो ।

कास्कीको मादी गाउँपालिका स्थित याङ्जाकोटमा पछिल्लो समय संक्रमण भेटिएको थियो । २०७३ फागुनमा पनि खाल्टेमसिनामा संक्रमण फैलिएको थियो । पोखरामा पहिलो पटक सन् २०१० मा कुखुरामा वर्डफ्लु संक्रमण पुष्टि भएको हो ।

पोखरा १५ का खुसीमान गुरुङले पालेको फार्म र पोखरा १७ का खेमबहादुर क्षेत्रीको कुखुरा फार्मबाट बर्डफ्लु संक्रमण भेटिएको हो । नजिकका फार्महरुको निगरानी र परीक्षण समेत गर्न थालिएको न्यौपानेले बताए ।

210 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal