संसद् विघटन गरेर ‘अर्ली’ इलेक्सनमा जाने गठबन्धनको तयारी

२०७८ फाल्गुन २३ गते, सोमबार

काठमाण्डौँ । सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा भंग गरेर अर्लि इलेक्सन गर्नेबारे छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदको जारी अवरोध खुलाउन सकारात्मक नभएको भन्दै गठबन्धनमा आबद्ध चार दलबीच त्यस किसिमको छलफल भएको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुने क्रममा संसद् भवन बाहिर पत्रकारहरुसँग प्रतिक्रिया दिँदै एमालेका कारण त्यस्तो निष्कर्षमा पुगिएको बताए ।

उनले भने, ‘एमालेले संसद् पनि चल्न नदिने, संसद्मा गञ्जागोल कायम राख्ने, पंगु बनाउने र हामीलाई पनि दुःख दिने काम गरिरहेको छ । यस्तो अवस्थामा संसद् विघटन गरेर ‘अर्ली’ निर्वाचनमा जानु नै उत्तम हुन्छ ।’

उनले त्यसपछि न संसद् रहने, न ओलीको वितण्डा रहने बताए । नेकपा एमालेले गत भदौदेखि संसद् अवरोध गर्दै आएको छ । एमाले पार्टी विभाजनमा सभामुख अग्नि सापकोटाले मुख्य भूमिका खेलेको भन्दै सभामुखको बहिर्गमन या माधव नेपालसहित आफुले कारबाही गरेका १४ सांसदको पदमुक्तीको सूचना टाँस गर्नुपर्ने माग गर्दै आइरहेको छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले समेत संसदको गतिरोध अन्त्य गर्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । तर एमाले अध्यक्ष ओलीले आफ्ना माग पुरा नभएसम्म संसदको अवरोध जारी गर्ने बताएका छन् ।

118 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal