कांग्रेस,राप्रपा परित्यागगरी झापामा एक हजारभन्दा धेरै कार्यकर्ता एमालेमा प्रवेश

२०७८ फाल्गुन २५ गते, बुधबार

झापा। झापा क्षेत्र नं. ३ का एक हजारभन्दा धेरै सर्वसाधरण विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलवार नेपाली कांग्रेस, राप्रपा र माओवादी परित्याग एमाले प्रवेश गरेको एमाले झापाका उपसचिव असारु राजवंशीले जानकारी दिनुभयो । राष्ट्रिय युवा संघ भद्रपुरले आयोजना गरेको नगर सभा एवम् पार्टी प्रवेश कार्यक्रममा अन्य राजनीतिक दलका अगुवासहित सर्वसाधरण कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

झाँकीसहित आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल, केन्द्रीय सदस्य दुर्गा प्रसाई, प्रदेशका सचिवालय सदस्य एवम् प्रदेश सांसद बसन्त बाँनिया र जिल्ला अध्यक्ष दिपक कार्कीले उनीहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो । सोही अवसरमा ज्येष्ठ महिलाहरुलाई अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी अग्नि खरेलले एमाले नै नेपाली जनताको भाग्य निर्माता रहेको बताउनुभयो । उहाँले मुलुकको हितमा एमाले बाहेक कुनै पार्टी उभिन नसक्ने बताउनुभयो । इञ्चार्ज खरेलले गरिव, विपन्न जनताको प्यारो पार्टी एमाले भएका कारण सबै जनताको आशा पनि एमाले नै भएको धारणा राखेका थिए । बुढेशकालको सहारा एमाले पार्टी हो, नेता खरेलले भने – त्यसैले आज सबैको प्यारो पार्टी बनेको छ ।

राष्ट्रहित र विकासमा निरन्तर क्रियाशिल एमाले गरिव, विपन्न नागरिकको उन्नति, भलाईका लागि सधैं योगदान गरिरहने उहाँको भनाई थियो । महिला, पिछडिएको समुदाय, दलित सबैको आशा गर्ने ठाउँ एमाले भएकाले सबैलाई एमालेमा गोलबन्ध हुन समेत खरेलले आग्रह गर्नुभयो । नेकपा एमाले देश बनाउने सपना बोकेर अघि बढेको पार्टी हो, उहाँले भन्नुभयो – हामी जनताको सपना पुरा गर्न प्रतिबद्ध छौं । एमाले सरकार रहँदा मुलुकमा विकासको लहर छाएको भन्दै नेता खरेलले आगामी निर्वाचनबाट एमाले नै पहिलो र ठुलो पार्टी हुने दावी गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले आउँदो चुनावमा सुर्यमा भोट हाल्न तयार हुन आग्रह गर्नुभएको छ । उहाँले विगतको चुनावमा सुर्यमा भोट हाल्न नपाएको भन्दै आउँदो चुनावमा झापा क्षेत्र नं. ३ का जनताले सुर्यमा मतदान गर्न पाउने बताउनुभयो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाई, प्रदेशका सचिवालय सदस्य बसन्त बाँनिया लगायतले सम्बोधन गर्नुभएको थियो । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा उनकै पार्टीबाट सयौं कार्यकता एमालेमा प्रवेश गरेकापछि राप्रपालाई ठुलो धक्का लागेको छ ।

132 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal