झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको अभियान

२०७८ फाल्गुन २८ गते, शनिबार

झापा । झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ । आजदेखि सुरु भएको अभियान एक सातासम्म चल्ने छ । यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराइँदै छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई औषधि सेवन गराइने जानकारी दिए ।

प्रदेश नं १ मा झापा र मोरङमा मात्र यो अभियान सुरु भएको छ । झापामा दुई प्रकारका र मोरङमा तीन प्रकारका औषधि सेवन गराइने फोकल पर्सन चम्लागाईंले बताए ।

अभियानअन्तर्गत स्वास्थ्यकर्मी र स्वयम्सेवक छ/छ सय परिचालन गरिएको छ भने उनीहरुमार्फत हात्तीपाइले रोगविरुद्धको औषधि (डीइसी) २० लाख ७२ हजार १४ डोज र एल्बेन्डाजोल नौ लाख २० हजार ८९५ डोज वितरण गरिनेछ । औषधि खुवाउने बेलामा छुटेका तथा रोगी व्यक्ति रोग निको भएपछि सम्बन्धित स्वास्थ्य संस्थामा गई औषधि सेवन गर्न सक्नेछन् । स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले सरकारले हात्तीपाइले रोग निवारणका लागि बर्सेनि ठूलो धनराशि खर्चिदै आएको बताए ।

117 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal