स्थानीय तह निर्वाचनमा ७९ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने

२०७८ फाल्गुन २८ गते, शनिबार

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७९ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन् ।

स्थानीय निर्वाचन प्रयोजनका लागि निवेदन दिएका मध्ये ७९ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले १ करोड ७८ लाख ३४ हजार ७ सय ६५ मतदाताको नामावली तयार गरी स्थानीय तहको सबै वडामा फागुन १९ गते अद्यावधिक दावी विरोधका लागि सूचना टाँस गरिएको आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार, सबैभन्दा बढी मोरङमा ७ लाख १७ हजार ६७ मतदाता छन् भने सबैभन्दा कम मनाङमा छ हजार ५ सय ७१ रहेका छन् । सबैभन्दा कम ४ सय ५० मतदाता भएको स्थानीय तह मनाङको नार्पाभूमि हो भने काठमाडौँ महानगरपालिका सबै भन्दा बढी ३ लाख ५ सय ८७ मतदाता भएको स्थानीय तह हो ।

आयोगले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने सन्दर्भमा तीन तहकै सरकारलाई निर्वाचनसम्बन्धी कार्यमा आवश्यक सहयोग, सहकार्य, समन्वय र तयारीका लागि २४ विषय समावेश गरी निर्देशन हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलाई लेखी पठाएको छ ।

आयोगले निर्वाचनमा खटिने जनशक्तिका लागि २० लाख बराबरको सामूहिक दुर्घटना बीमा स्वीकृत भएको जानकारी दिएको छ। निर्वाचन कार्यतालिका अनुसार, निर्वाचनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतपत्र छपाइ कार्य गर्न सम्भव नभएकाले आगामी चैत १६ देखि वैशाख २० गतेसम्म मतपत्र छपाइ गरी मुख्य निर्वाचन कार्यालयमा पठाइसक्ने बताएको छ ।

प्राविधिक समितिले दिएको सुझावका आधारमा आगामी स्थानीय तह निर्वाचनमा सेतो कागजमा हरियो रङ्गको निर्वाचन चिह्न र विवरण छपाइ गर्न आवश्यक प्रक्रियाअघि बढाइएको पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

302 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal