रुसले युक्रेनमा हमला गरेको एक महिना पूरा, युद्ध अझै लम्बिने संकेत

२०७८ चैत्र १० गते, बिहीबार

काठमाडौं । रुसले छिमेकी देश युक्रेनमाथि सैन्य आक्रमण सुरू गरेको एक महिना पूरा भएको छ ।

गत फेब्रुअरी २४ तारिखमा रुसी सेना युक्रेनी सिमानाभित्र छिरेर आक्रमण सुरू गरेका थिए ।

रुसको तुलनामा निकै कमजोर ठानिएको युक्रेनमाथिको आक्रमण एक महिना बित्दा रुसका लागि महंगो पर्ने देखिएको छ । युद्ध अन्त्य हुने कुनै संकेत देखिनुको सट्टा पश्चिमा देशहरुको सहयोगमा युक्रेन झन कठोर रुपमा लडिरहन प्रतिवद्ध देखिएको छ ।

एक महिनाको रुसी आक्रमणमा करीब ३५ लाख युक्रेनीहरु देश छाडेर युरोपमा शरणार्थी बन्न पुगेका छन् भने देशभित्रै विस्थापित हुने संख्या ६५ लाख माथि रहेको छ । आक्रमणबाट युक्रेनमा ठूलो क्षति पुगेको छ । थुप्रै युक्रेनी शहरहरु भग्नावशेषमा परिणत भएका छन् । विशेष गरी दक्षिणी शहर मारिउपलमा सवैभन्दा ठूलो क्षति पुगेको छ ।

युक्रेन भित्रका लगभग सवै आणविक भट्टीहरु रुसी सैनिकको कब्जामा पुगेका छन् । रुसी सेनाको ठूलो संख्या राजधानी किएभ नजिकै अड्डा जमाएर बसेको छ । तर रुसी सेनाले कीभ कब्जामा लिन सकेको छैन । त्यसो त खर्सोन शहर बाहेक अन्य शहर रुसी कब्जामा गएका छैनन् ।

युद्धमा युक्रेनका सयौं सैनिक मारिएका छन् भने हताहत हुने सर्वसाधारणको संख्या पनि उल्लेख्य छ । रुसी सेनातर्फ पनि उल्लेख्य क्षति पुगेको अनुमान गरिएको छ । तै पनि यो युद्ध कहिले र कसरी अन्त्य हुन्छ भन्ने अनुमान गर्न मुस्किल हुन थालेको छ ।

अमेरिकासहित नाटो गठबन्धनका देशहरुले युक्रेनमा देखिने गरी सैनिक नपठाए पनि उनीहरुले गर्न सक्ने जति सहयोग गरिरहेका छन् । हातहतियारदेखि भाडाका सैनिक समेत उनीहरुले पठाईरहेका छन् भन्ने विश्लेषण गरिंदै छ ।

युद्ध अन्त्य हुने छाँट नदेखिईरहँदा रुसले युक्रेनमा के चाहेको छ भन्ने पनि उत्तिकै अन्योलको विषय बनेको छ ।

456 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal