कृष्ण महराका स्वकीय सचिव शर्मा पत्नीसहित एमाले प्रवेश

२०७८ चैत्र १० गते, बिहीबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमाले प्रवेश गरेका छन् । उनी काठमाडौंमा जारी एमाले केन्द्रीय कमिटी बैठक स्थलबाटै पत्नी सीता चौधरीसहित एमाले प्रवेश गरेका हुन् ।

शर्मा माओवादी केन्द्र तुलसीपुर, दाङ उपमहानगर कमिटी अध्यक्ष थिए । उनकी पत्नी सीताले २०७४ को स्थानीय चुनावमा घोराही उपमहानगरपालिका उपमेयरमा प्रतिस्पर्धा गरेकी थिइन् । यद्यपि उनी चुनावमा पराजित हुन पुगिन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बिहीबार पनि जारी छ। बबरमहलस्थित एक बैंक्वटमा जारी बैठकमा स्थानीय तहको निर्वाचनको घोषणापत्रबारे छलफल हुनेछ। निर्वाचनको रणनीति बनाउन एमालेले बैठक बोलाएको हो।

बैठकमा बुधबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने कार्यसूची छ। बैठकको सुरुवातमा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेकालाई ओलीले स्वागत गरेका थिए।

एमालेले स्थानीय तह निर्वाचनलाई ‘जनादेश र परमादेशबीच’ जनमत संग्रहका रूपमा लिनुपर्ने बताएको छ। राजनीतिक प्रतिवेदनमा ‘स्थानीय निर्वाचनलाई सामान्य, नियमित र सहज अवस्थाको’ मान्न नहुने उल्लेख छ।

‘यो निर्वाचन सामान्य, नियमित र सहज अवस्थामा हुँदै छैन। यो त जनादेश र परमादेशबीचको जनमत संग्रहका रूपमा हुँदै छ’, प्रतिवेदनमा लेखिएको छ, ‘राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरूका लागि कम्फर्टेबलहरूका बीचमा हुँदैछ। राजनीतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकहरूबीच हुँदैछ।’

बैठकमा लागि ११ वटा कार्यसूची प्रस्तुत गरिएको थियो। अध्यक्ष ओली राजनीति प्रतिवेदन पेस गरेपछि महासचिव शंकर पोखरेलले केन्द्रीय कामबारे जानकारी दिएका थिए। केन्द्रीय सदस्यसँग प्रतिवेदनका विषयमा लिखित राय माग गरिएको छ। बिहीबार केन्द्रीय सदस्यले लिखित राय पेस गर्नेछन्।

237 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal