अर्थतन्त्र बुझेका गभर्नरलाई ‘बलिको बोको’ बनाइयोः अध्यक्ष ओलीले

२०७८ चैत्र २६ गते, शनिबार

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गर्ने नहुने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्थतन्त्र विगार्ने मान्छे अर्कै भएको तर गभर्नरलाई अर्थतन्त्र विगारेको आरोप लगाएर निकालेको बताए ।

उनले अर्थतन्त्र बुझेको मान्छेलाई बलिको बोका बनाएको बताएका छन् । ‘थुतुनाभरी रौं भएको मुसाले धान खायो, एउटै रौं नभएको भ्यागुतालाई कारबाही भयो’ उनले भने, ‘धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तै भयो यो त ।’

‘सरकारले गभर्नरलाई कारबाही गर्यो रे। जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थिए,’ अध्यक्ष ओलीले भने, ‘राष्ट्र सेवक, एउटा अर्थशास्त्री, अर्थतन्त्र बुझेका मान्छेलाई बलिको बोको बनाइयो ।’

ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइ नारायण दाहाललाई राष्ट्रियसभामा नियुक्त गरेको विषय नातावाद कृपावादको पराकाष्ठा भएको जिकिर गरेका छन् । अध्यक्ष ओलीले प्रचण्डका भाइ नारायण दाहाललाई राष्ट्रियसभामा नियुक्त गर्नुले शहीद परिवार र घाइतेलाई उपेक्षा गरेको बताए ।

उनले भने, ‘पुष्पकमल दाहालका भाइ नारायण कमल दाहाल अच्छा खासा गुरिल्ला हुनुहुन्थ्यो । उहाँलाई राष्ट्रपतिबाट राष्ट्रियसभामा नियुक्त गरियो । यत्रो विघ्न घाइते र शहीद परिवार थिए । जनयुद्धमा मौकाले बचेका मान्छेहरू छन् । ती सबैलाई पन्छाएर, उपेक्षा गरेर आफ्नै भाइलाई नियुक्त गरियो ।’

227 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal