गठबन्धन नगरे कांग्रेसको हालत पहिलेकै जस्तो हुनेः देउवा

२०७९ बैशाख ६ गते, मंगलवार

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अरू दलसँग चुनावी गठबन्धन नगर्ने हो भने कांग्रेसको हालत पहिलेकै चुनावको जस्तो हुने बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले काठमाण्डौमा गरेको कार्यक्रममा नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले गठबन्धन नगरि चुनाव लडेमा पहिलेको जस्तै हालत हुने भएकाले गठबन्धनको आलोचना र विरोध नगर्न आग्रह गर्नुभयो । ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ, गठबन्धन टुट्नेबित्तिकै हाम्रो हालत पहिले जस्तै हुन्छ, पहिले एमाले र माओवादी मिल्दा के भएको थियो । भोलि त्यही अवस्था नआओस्, नयाँ संविधानअनुसार एक्लै पार्टीको बहुमत आउने सम्भावना छैन, कसै न कसैसँग त मिल्नैपर्‍यो । अब गठबन्धनलाई राम्रोसँग अघि बढाउनुपर्छ’, देउवाले भन्नुभयो ।

गठबन्धन लेनदेनको विषय पनि भएकाले सबैतिर कांग्रेसले मात्रै पाउनुपर्छ भनेर अडान लिन नहुने पनि देउवाको भनाइ छ । ‘गठबन्धनमा गिभ एन्ड टेकको कुरा हुन्छ, कांग्रेसलाई मात्रै दिनका लागि अरू दलले गठबन्धन गरेका होइनन् नि, ठिक छ कांग्रेस पार्टी ठूलो छ, ठूलै पार्टी होस्, अरूले सानै अनुसार भाग खोजेका छन्, यसमा किन आपत्ति जनाउनुप्यो र ’, देउवाले भन्नुभयो ।

माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चासँगको गठबन्धनकै कारण कांग्रेसले प्रधानमन्त्री पाएको, एउटा पनि मुख्यमन्त्री नभएको अवस्थामा गण्डकी र कर्णालीमा मुख्यमन्त्री पाएको र अरू सरकारमा पनि सहभागी भएको, विभिन्न ठाउँमा सम्मानजनक उपस्थिति रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो ।

२०२७ सालमा स्थापना भएको नेपाल विद्यार्थी सङ्घले किन क्याम्पसहरूमा हार्दै गइरहेको छ भनेर समीक्षा गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । अरू दलका विद्यार्थी सङ्घले विद्यालयमै कमिटी बनाएको तर नेपाल विद्यार्थी सङ्घले विद्यालय तहमा सङ्गठन नबनाएकोमा देउवाले असन्तुष्टि जनाउनुभयो ।

137 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal