आजदेखि एसइई परीक्षा, लुम्बिनी प्रदेशबाट ८६ हजार ६ सय २४ जना परीक्षार्थी सहभागी हुँदै

२०७९ बैशाख ९ गते, शुक्रबार

बुटवल । शुक्रबारदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि लुम्बिनी प्रदेशका सबै जिल्लाहरूको सुरु भएको छ। कोभिड महामारीका कारण विगत दुई वर्षका एसइई परीक्षाको मूल्यांकन विद्यालयहरू आफैंले आन्तरिक रूपमा गरेका थिए। यस वर्ष भने भौतिक रूपमै परीक्षा सञ्चालन हुँदैछ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसइईमा देशभरबाट पाँच लाख १४ हजार ९ सय ६७ जना विद्यार्थी सहभागी हुँदै छन्। यस वर्ष छात्रभन्दा छात्राहरूको संख्या ८ सय ७१ ले बढी छ।

यसपालि दुई लाख ५७ हजार ९ सय २४ जना छात्रा छन् भने छात्र दुई लाख ५७ हजार ५३ छन्। लुम्बिनी प्रदेशबाट पनि यस वर्ष ८६ हजार ६ सय २४ जना परीक्षार्थी एसइईमा सहभागी हुँदै छन्। शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक मनोज कुमार गैरेले लुम्बिनी प्रदेशबाट २ हजार ८ सय ६६ जना प्राविधिक धारका र दुई जना दृष्टिबिहीन गरी ८६ हजार ६ सय २४ परीक्षार्थी एसइईमा सहभागी हुने जानकारी दिए।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रूपन्देहीबाट सबैभन्दा धेरै परीक्षार्थी सहभागी हुँदै छन्। ५५ केन्द्रबाट हुने परीक्षामा १८ हजार २ सय ५४ परीक्षार्थी सहभागि हुने उनले बताए। रूपन्देहीपछि दाङबाट १३ हजार १ सय ५२, बाँकेबाट ९ हजार २ सय ८९, बर्दियाबाट ८ हजार ५ सय ९१ र कपिलवस्तुबाट ८ हजार ८३ जना परीक्षार्थी सहभागी हुँदै छन्।

त्यस्तै पश्चिम नवलपरासीमा ६ हजार ३ सय २६, पाल्पामा ४ हजार ८ सय ४१, गुल्मीमा ४ हजार ८ सय २३, प्यूठानमा ४ हजार ४ सय २२ जना विद्यार्थी सहभागी हुँदै छन्। रोल्पामा पनि ४ हजार १ सय १७ जनाले एसइई दिँदै छन्।

अर्घाखाँचीमा ३ हजार ५ सय ८५ परीक्षार्थीले एसइई दिँदा सबभन्दा कम रुकुम पूर्वमा जम्मा १ हजार १ सय ४१ जना परीक्षामा सहभागी हुने निर्देशक गैरेले बताए।

परीक्षा सञ्चालनका लागि प्रदेशभरिका ३ सय २७ वटा केन्द्र तोकिएको र सबैमा एक(एक जना गरी ३ सय २७ जना केन्द्राध्यक्ष, ५ सय ७९ जना सहायक केन्द्राध्यक्ष र ४ हजार ३ सय ४५ जना निरीक्षक परिचालन गरिएको छ।

रूपन्देहीका शिक्षा समन्वय इकाई प्रमुख दीपेन्द्र ढकालले जिल्लाका सबै केन्द्रहरूमा उत्तरपुस्तिका पुगिसकेको र प्रश्नपत्र समेत सम्बन्धित केन्द्रको कार्यक्षेत्रभित्र प्रहरी चौकीमा पठाइसकिएको जानकारी दिए।

ढकालले सबै परीक्षार्थीलाई नआत्तिकन सहभागी हुन र मर्यादित रूपमा परीक्षा दिन आग्रह गरे।

291 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal