देउवासंग देश विकास गर्ने कुनै एजेण्डा छैनः ओली

२०७९ बैशाख १३ गते, मंगलवार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग देश विकास गर्ने कुनै एजेण्डा नभएको आरोप लगाएका छन्। उनले सुशासन वा साशन कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीसँग कुनै योजना नभएको बताए।

अध्यक्ष ओलीले नेपाली काँग्रेस अहिले गठबन्धन नामको कुहिएको लौरोको भरमा रहेको बताए। उनले गठबन्धन नामको कुहिएको लौरो आसन्न स्थानीय निर्वाचनबाट सकिने दाबीसमेत गरे।

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभइ केन्द्र भएको दाबी गरे। चुनाव घोषणापत्र निकाल्न नसक्ने पार्टी नहुने उनको तर्क थियो। अध्यक्ष ओलीले चुनावी घोषणापत्र किन ननिकालेको भन्ने प्रश्न सोध्न पनि आग्रह गरे। उनले माओवादीले के गर्छ, के गर्न खोज्दैछ भन्ने कुराहरु भन्न नमिल्ने र झुट बोल्ने बाँकी कुरा नभएकोले ननिकालेको आरोप लगाए।

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई फाटोवादी, चोइटोवादी भएको आरोप लगाए। उनले हतारमा घोषणापत्र निकालेको समाजवादीको घोषणापत्रमा केही तुक नरहेको दाबी गरे।

अध्यक्ष ओलीले अहिलेको गठबन्धन अपराधका लागि बनेको अपराधी गठबन्धन भएकोले चुनाव सार्ने गाड्यन्त्र भइरहेको तर नेकपा एमालेले चुनाव सार्न नदिने स्पष्ट पारे। उनले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उत्तेजक नबनीकन अगाडि बढ्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

179 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal