टर्कीको नाम अबदेखि ‘टर्किए’ राखिने

२०७९ जेष्ठ २० गते, शुक्रबार

इस्तानबुल । अबदेखि संयुक्त राष्ट्र संघमा टर्कीलाई ‘टर्किए’ नामले चिनिने भएको छ । मुलुकको नाम परिवर्तनका लागि अंकाराले संयुक्त राष्ट्र संघसंग औपचारिक अनुरोध गरेको हो ।

गत वर्षको उत्तरार्धमा टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानले चालेको नयाँ रिब्रान्डिङ अभियानको एक अंशको रूपमा थुप्रै अन्तर्राष्ट्रिय निकायहरूलाई नाम परिवर्तन गर्न आग्रह गरिने भएको छ । राष्ट्रपति एर्दोगानले गत डिसेम्बरमा भनेका थिए, “टर्किएले तुर्केली जनताको संस्कृति, सभ्यता र मान्यतालाई उत्कृष्ट ढंगले प्रतिनिधित्व र अभिव्यक्त गर्दछ ।”

संयुक्त राष्ट्र संघले यसैसाता यससम्बन्धी अनुरोधपत्र प्राप्त हुनासाथ नाम परिवर्तनको पहल गरिएको जनाएको छ । हुन त अधिकांश टर्कीका जनतामाझ आफ्नो मुलक ‘टर्किए’ नामले चिरपरिचित छ । यद्यपि अंग्रेजीकरण गरिएको ‘टर्की’को मुलुकमै पनि व्यापक प्रयोग हुँदै आएको थियो ।

रिब्रान्डिङ अभियानअन्तर्गत अबदेखि सम्पूर्ण उत्पादित वस्तुमा ‘मेड इन टर्किए’ लेखिने छ । गत जनवरीमा मुखमै झुण्डिने वाक्यांश ‘हेल्लो टर्किए’सहितको पर्यटन अभियान चलाइएको थियो ।

यस नयाँ नामाकरणलाई लिएर आम जनताबाट मिश्रित प्रतिक्रिया आएको छ । सरकारी अधिकारीहरूले यसको स्वागत र समर्थन गरेका छन् भने अन्यले आर्थिक समस्याको वातावरणबीच आगामी वर्षको चुनावका लागि राष्ट्रपति तयारीमा जुटिरहेका बेला यो अप्रभावकारी अवरोधको रूपमा देखिएको बताएका छन् ।

168 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal