सुनचाँदी पसलबाट गरगहना राखिएको सेफ चोरी

२०७९ माघ ८ गते, आईतवार

रूपन्देही । रुपन्देहीको कन्चन गाउँपालिका- ५ गरगरेमा सञ्चालित न्यू अर्घाखाँची सुनचाँदी पसलबाट साढे ८ लाखका तयारी सामग्री चोरी भएको छ । पसलबाट सुनचाँदीका गरगहना राखिएको सेफ नै चोरी भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार शनिबार राति पसलको सटर फोरेर सेफसहित चोरी भएको हो । पसलधनी लालबहादुर विश्वकर्माका अनुसार सेफमा ८ तोला सुन र ६० हजार बराबरको चाँदीका गरगहना रहेको थियो ।

तर, २५० किलोभन्दा बढी वजन रहेको सेफ चोरी हुँदा स्थानीयले थाहा पाएनन् । बजारमा राखिएको सीसीटीभी क्यामरा नचल्दा चोरीको फुटेजसमेत कतै कैद हुन सकेन ।

कञ्चन गाउँपालिकाले बजार क्षेत्रमा सीसीटीभी राखेको भए पनि कुनै पनि चालू अवस्थामा नदेखिएको इप्रका सालझण्डीका प्रहरी निरीक्षक जगतनाथ मरासिनीले बताए ।

उनका अनुसार चोरी भएको ठाउँदेखि चार सय मिटर पश्चिम कपिलवस्तु जाने बाटोको कुलामा चाँदीको पाउजु र गहना राख्ने ट«े फेला परेको छ । प्रहरीले सर्च अभियान जारी राखेको जनाएको छ ।

पसल सञ्चालकको केही समयअघि दुर्घटनामा परी निधन भएको थियो । केही दिनअघि मात्रै खोलिएको पसलबाट सेफसहित चोरी भएकाले घटना रहस्यमय भएको प्रहरी निरीक्षक मरासिनीले बताए ।

यता सुनचाँदी व्यवसायी संघ रुपन्देहीका महासचिव सीताराम रसाइलीले विज्ञप्ती जारी गर्दै सुन पसलबाट सेफ नै चोरी हुनुले सिंगो सुनचाँदी व्यवसायी आतंकित भएको उल्लेख गरेका छन् । उनले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी चोरी भएको सुनचाँदी यथाशीघ्र बरामद गर्न माग गरेका छन् ।

81 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal