नेपाललाई इसराइलको पत्र: विपिन जोशी हमासको नियन्त्रणमा छन्

२०८० कार्तिक १६ गते, बिहीबार

काठमाडौं । २७ दिनदेखि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा रहेको इसराइलले नेपाल सरकारलाई पत्राचार गरेर जानकारी दिएको छ।

इसाइसल सरकारले पत्राचारमार्फत् जोशी हमासको नियन्त्रणमा रहेको जानकारी गराएको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले सेतोपाटीलाई बताएको छ।

‘इसराइल सरकारबाट हामीले विपिन थाइल्याण्डसँगै अरू मुलुकका नागरिकसहित हमासको नियन्त्रणमा रहेको जानकारी पाएका छौं,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘तर उनी कहाँ छन् र कस्तो अवस्थामा छन् भन्ने कुरामा इसराइल सरकारसमेत जानकार नभएकाले खोज्न कठिनाइ भइरहेको छ।’

उनको अवस्थाबारे पत्ता लगाएर सार्वजनिक गरिदिन रेडक्रसको अन्तराष्ट्रिय संस्था आइसीआरसी, इसराइल सरकार र अरू अन्तराष्ट्रिय समुदायलाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

हमासले इसराइलमा आक्रमण गरेको दिनदेखि जोशी बेपत्ता छन्।

गत असोज २० गतदेखि बेपत्ता जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इसराइल पुगेका थिए। उनी सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि तथा विज्ञान संकायमार्फत् त्यहाँ पुगेका हुन्। उनीसँग उक्त विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इसराइल गएका थिए।

41 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal