सहकारीमा कार्यविधि निर्माण सम्बन्धी गण्डकी प्रदेश स्तरीय तालिम सम्पन्न

२०७७ पुष १४ गते, मंगलवार

बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा सहकारीमा नीति तथा कार्यविधि निर्माण सम्बन्धी एक दिने गण्डकी प्रदेश स्तरीय तालिम आइतवार सम्पन्न भयो ।
सहकारी संघ संस्थालाई व्यवस्थित रुपमा सञ्चालनका लागि नीति तथा कार्यविधिको आवश्यकतालाई मध्यनजर गरी तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।
बैंकले सदस्य संस्थाहरुको सहजताका लागि नमुना कार्यविधिहरु निर्माणमा सहयोग गर्दै आएको छ । गण्डकी प्रदेश स्तरीय कार्यक्रममा कर्जा कार्यविधिका बारेमा सहजीकरण गरिएको थियो ।
वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुको आम्दानीको मुख्य स्रोत कर्जा भएकाले कर्जालाई व्यवस्थापन गर्नका लागि आवश्यक कार्यविधिका विषयमा कार्यक्रम जानकारी गराइएको थियो ।
तालिमको शुरुवात गर्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीहरुलाई विधिसम्मत सञ्चालनका लागि तालिम सहयोगी हुने धारणा राख्नु भएको थियो । उहाँले सहकारीहरुले सदस्यहरुलाई गर्ने कर्जा लगानी र असुलीका लागि कार्यविधिलाई प्रभावकारी बनाउन जरुरी रहेको उहाँको भनाइ थियो ।
गण्डकी प्रदेश सहकारी विभागका अधिकृत सागर खनालले सहकारी संघ संस्थाहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि नीति विधिको आवश्यकता पर्ने र त्यसका लागि राष्ट्रिय सहकारी बैंकले तालिम राखेर निरन्तर सचेतना प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा बैंकका तालिम विभागका अधिकृतहरु सूर्य प्रसाद रिमाल र नारायण बेलबासेले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन तालिम विभागका वरिष्ठ अधिकृत मिना शर्माले गर्नु भएको थियो ।

167 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal