सरकार निर्वाचनको तयारीमा जुटिसक्यो- डा. राजन भट्टराई

२०७७ पुष १५ गते, बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सरकार निर्वाचनको तयारीमा जुटिसकेको बताउँदै निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने विश्वास दिलाएका छन् । यद्धपी संसद विघट्नविरुद्ध अदालतमा परेको रिटको विषय अहिलेपनि विचाराधिन रहेको उनले सुनाएका छन् ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. भट्टराईले भने,‘बहुमतप्राप्त प्रधानमन्त्रीले संविधानतः निर्वाचनको घोषणा गरिसक्नुभएको छ, वैशाख १७ र वैशाख २७ गते गरि दुई चरणमा निर्वाचन हुन्छ । निर्वाचन आयोग तयारीमा जुटिसकेको छ । सरकार तयारीमा रहेको छ । यद्धपी यो विषय सर्वोच्च अदालतमा विचारािधन अवस्थामा छ । अहिले नै यो हुन्छ भनेर भन्ने कुरा हुँदैन् । सरकार पूर्ण रुपमा निर्वाचनको लागि तयारीमा छ । निर्वाचन गर्ने काममा छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले निर्वाचन हुन्छ कि हुँदैन् ? भन्ने प्रश्नमा भने,‘यो मुद्दा विचाराधिन छ । यो अवस्थामा हुँदैन कि भन्नु स्वभाविक हो । यो संवैधानिक ईजलासमा बहस हुँदा, छलफल हुँदा, प्रधानन्यायाधीशले दुई प्रश्न सोध्नुभयो किनकी संविधानको अन्तिम व्याख्या गर्ने थलो सर्वोच्च अदालत हो । एउटा प्रश्न उहाँ (प्रधानन्यायाधीशले) के भन्नुभयो भने वकिलले बहस गर्ने क्रममा संसद विघटन गर्ने प्रक्रिया के हुनुपर्दथ्यो भनेर बहस गर्न भन्नुभयो । मेरो बुझाईमा विघटन गर्ने प्रावधान गर्ने अहिलेको संसदमा पनि हुन्छ ।’
उनले बहुमत प्राप्त सरकारको प्रधानमन्त्रीले ‘मैले सरकार चलाउन सकिनँ, म निर्वाचनमा जान्छु भन्न नपाउने ?’ भन्दै उल्टै प्रश्न गरे । उनले थपे,‘सिटिङ प्राईममिनिस्टरले निर्वाचनमा जान्छु भन्न किन नपाउने ? पहिलो यो बहुमतप्राप्त सरकार हो । संसदभित्र विकल्प छैन् । निर्वाचन हुँदैन कि भन्ने विषयमा हामी अन्यौलतमा रहनुहुँदैन् । तर, अन्तरिम आदेश आएको छैन् । अब निर्वाचनको वातावरण बनाएर जाने कुरा नै हो । अन्य पार्टीका धारणा आउने क्रम जारी छ । निर्वाचनको विकल्प अब छैन् । ढिलो चाँडो निर्वाचनमा नै जाने हो । कांग्रेसले अलिक चाँडो बुझ्यो । किनकी उसले देशव्यापी रुपमा एक दिने कार्यक्रम गर्यो, त्यो पनि १६५ निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम गर्यो । उसले त्यसलाई पनि निर्वाचनको तयारीको रुपमा प्रयोग गरेको हाम्रो बुझाई छ ।’
उनले संसद विघटन गरेर निर्वाचनमा जाने घोषणाको विरोधमा सडक आन्दोलन भैरहेको विषयमा आन्दोलन गर्ने उनीहरुको अधिकारको कुरा भएको टिप्पणी गरे । उनले भने,‘निर्वाचनको बारेमा आशंका पालिरहनुहुँदैन् । बरु, समय छोटो छ । तयारी पूरा गरेर जानुपर्छ । बेलायतमा एक महिनाअघि चुनाव घोषणा हुन्छ, अनि चुनाव हुन्छ । चुनावको लागि बढि समय खर्च गर्ने काम राम्रो होईन् । हामीले सुधार गर्दै जानुपर्छ । आयोगले समय पुग्छ भनेर उ तयारीमा जुटेको छ । सर्वोच्चको फाईनल फैसला पर्खेर बसेको छ ।’
नेपालमा पछिल्लो समय विकसित राजनीतिक घट्नाक्रमबारे वैदेशिक मुलुकहरुको चासो हुनु स्वभाविक भएको पनि उनको धारणा छ । उनले भने,‘हिजोदेखि नै हामीले स्थायित्वको पक्षमा छौं भनेका थियौं । स्थायी सरकार प्राप्त गर्यौं भन्यो । राजनीतिक स्थायित्वको बाटोबाट मुलुकको समृद्धि प्राप्त गर्ने भन्यौं । आन्तरिक विवाद हुनुमा उनीहरुले चासो राख्ने कुरालाई अन्यथा लिनुहुँदैन् । चिनियाँ प्रतिनिधिमण्डलको भ्रमणबारे विभिन्न चासो उठाएका छन्, हाम्रो आन्दोलन स्वतन्त्र रुपमा अघि बढेको हो । मुलुकको परिवेशअनुसार अघि बढाउनुपर्छ भनेर हामीले हिजो आन्दोलन लगेका हौं । जनताको बहुदलीय जनवाद भन्यौं । मानवअधिकार। लाकतन्त्र, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चतालाई मान्नेछन् । हामीले कसैको धुरी लिएनौं । अहिले हामीले लिने निर्णयमा अरु कसले के भन्छ भन्ने कुरा, हाम्रो सबैसँग राम्रो सम्बन्ध छ ।’

160 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal