कांग्रेसको आन्दोलनलाई सफल बनाउन तरुण दलको निर्देशन

२०७७ पुष २० गते, सोमबार

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध नेपाली कांग्रेसले गर्न लागेको दोस्रो चरणको आन्दोलनमा सक्रिय सहभागिता जनाउन नेपाल तरुण दलले आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सोमबार बिहान सबै जिल्ला कार्यसमितिहरूलाई परिपत्र जारी गरेर आन्दोलनमा सक्रिय सहभागिताका लागि निर्देशन दिएका हुन् । उनले पार्टीसँग समन्वय गरेर प्रदर्शन गर्न निर्देशन दिएका छन् ।
‘नेपाल कम्युनिष्ट पार्टीका केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली कांग्रेस पार्टीले तपशिल बमोजिमका विरोध प्रदर्शनका कार्यक्रमहरू गर्ने भएको छ’, परिपत्रमा भनिएको छ ।
‘विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि नेपाल तरुण दलको त्यस जिल्ला समितिले जिल्ला पार्टीसंग समन्वय गरी जिल्ला समितिअन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरूलाई सक्रिय रुपले सहभागी गर्नरगराउन नेपाल तरुण दल केन्द्रीय समिति यसै परिपत्रमार्फत निर्देशन गर्दछ’, अध्यक्ष बस्नेतले भनेका छन् ।
कांग्रेसले पुस २५ गते शनिबारका दिन ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरूमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने कार्यक्रम तय गरेको छ ।

234 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal