केपी ओलीले गल्ती गरेको रहेछ भने जनताले दण्ड दिनेछन्ः प्रधानमन्त्री

२०७७ पुष २६ गते, आईतवार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बन्न नसक्ने जुनसुकै अवस्थामा पनि संसद् विघटन गर्न सकिने र निर्वाचनमा जान सकिने व्यवस्था संविधानमा भएको बताउनुभएको छ ।
आज राष्ट्रिय सभाको बैठकलाई संवोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले ‘सरकार बन्न नसक्ने अवस्था भए जुनसुकै बेला तत्काल निर्वाचनमा जान संविधानले नरोकेको बताउनुभयो ।
चुनाव हुँदा अस्थिरता नहुनेभन्दै प्रधानमन्त्री ओलीले अस्थिरता त विदेशीको इशारामा चल्दा र गोटी बन्दा हुने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘संवैधानिक बाटोबाट जाँदा अस्थिरता भनिन्न बरु अस्थिरता त्यतिबेला हुन्छ, जतिबेला बाह्य शक्तिहरूको इशारा र स्वार्थमा जब देशका शक्तिहरू गोटी बन्न थाल्छन् ।’
निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिने र अप्ठ्यारोमा पार्ने प्रयासहरू भइरहेपछि आफू बाध्य भएर निर्वाचनमा जानु परेको प्रधानमन्त्रीको भनाई थियो ।
संवोधनका क्रममा प्रधानमन्त्री ओलीले कतिपय मानिसहरूलाई केपी ओलीले सर्लक्कै अर्कैलाई अध्यक्ष र प्रधानमन्त्री दिए र छोडेको भए भन्ने लागेको भन्दै प्रधानमन्त्री पद जसलाई र जहिल्यै दिन मिल्ने पद नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘किन छोड्ने ?, के प्रधानमन्त्रीको पद दान हो र ? कमन्डली थाप्ने बित्तिकै लौ भनेर दिने, यो मोहोर सिक्का हो र ? उहाँले थप्नुभयो, प्रधानमन्त्रीको जिम्मेवारी भनेको यो जनताले सुम्पिएको अभिभारा हो, जसलाई मनलाग्नी वित्तिकै र जुनसुकै विधिबाट सुम्पिन सकिँदैन ।’ निर्वाचनबाट आएको प्रधानमन्त्रीलाई बीचमै षडयन्त्र गर्ने प्रयास भएसँगै र सरकारका उपलबधीलाई ओझेलमा पार्न केही मान्छेहरू लागेपछि नयाँ जनदेशमा जानुपरेको प्रधानमन्त्रीको भनाई थियो ।
कतिपय मान्छेहरुको निर्वाचन भन्ने बित्तिकै खुट्टा कामेको भन्दै उहाँले जनताको बीचमा जान डराउनु पर्ने केही कुरा नभएको बताउनुभयो । ‘प्रभुका चरणमा जाने भनेको हैन, जनताको शरणमा जाने भनेको,किन आतिनु ।’ प्रधानमन्त्रीको भनाई थियो । केपी ओलीको लोकप्रियता जिरोमा गएको भन्नेहरूलाई उहाँले भन्नुभयो ‘जिरोमा गयो की माइनसमा गयो, या प्लसमा गयो निर्वाचनमा हेरौँ ।’ प्रधानमन्त्रीको भनाई थियो । गल्ती गरेको भए जनतामा गएर बताइदिन अनुरोध गर्दै उहाँले भन्नुभयो, केपी ओलीले गल्ती गरेको रहेछ भने जनताले नै दण्ड दिनेछन् ।

205 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal