‘नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछः प्रधानमन्त्री

२०७७ माघ २ गते, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’ को प्रयोगबाट सुशासनमा वृद्धि हुने बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सो एप्स सार्वजनिक भएका अवसरमा भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा एप्समा सवारी कर, अनुमतिपत्र लोकसेवालगायत सेवालाई पनि जोडिने जनाए ।
उक्त एप्स बढीभन्दा बढी प्रयोेग गरी लाभ लिन सबैमा आग्रह गर्दै उनले युवा पुस्ताले यसको प्रयोगको अगुवाइ गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भने, “परीक्षणका रुपमा नागरिक एप्स प्रक्षेपण भएकामा खुशी लागेको छ । हरेक सरकारी सेवालाई सूचना तथा सञ्चार प्रविधिसँग जोडेर सेवा दिनु सरकारको कर्तव्य हो । सरकार नागरिकलाई सबै सेवा सरल र सहजरुपमा दिन तत्पर रहँदै आएको छ । यसको प्रयोगले भ्रष्टाचार अन्त्य हुने विश्वास पनि लिएको छु ।” –रासस

152 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal