देउवाबिरुद्ध आन्दोलनमा उत्रियो गृहजिल्ला डडेलधुराकै कांग्रेस

२०७८ कार्तिक २७ गते, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको क्रियाशील सदस्यता विवाद केन्द्रमा आइपुगेको छ । केन्द्र आइपुगेसँगै सभापति देउवाबिरुद्ध आन्दोलनको घोषणासमेत भएको छ ।

पार्टीको विधान र जिल्ला कार्यसमितिको निर्णयविपरीत क्रियाशील सदस्यता वितरण गरिएको भन्दै डडेल्धुराका असन्तुष्ट नेता कार्यकर्ताहरुले मंसिर १ गतेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा निरन्तर धर्ना दिने भएका हुन । डडेल्धुरा कांग्रेसका सभापति कर्ण मल्लले सानेपामा पत्रकार सम्मेलन गर्दै विधानविपरीत बाँडिएको क्रियाशील सदस्यता सच्याएर पुनः अधिवेशन नगरिए आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी दिनुभएको छ ।

‘शेरबहादुर देउवालाई डडेल्धुराबाट ६ पटक सांसद जिताएर ५ पटक प्रधानमन्त्री र कांग्रेसको सभापति बनायौं । तर उहाँकै नेतृत्वमा कांग्रेसका इमान्दार कार्यकर्तालाई पाखा लगाउने काम भएको छ । हाम्रो माग सम्बोधन नगरिए जस्तोसुकै आन्दोलनका लागि तयार छौं’, मल्लले भन्नुभयो। मल्लले डडेल्धुराका ५२ वटा वडामध्ये ४३ वटा वडामा जिल्लाबाट स्वीकृत क्रियाशील सदस्यता नामावलीमा व्यापक हेरफेर गरिएको आरोप लगाउनु भयो ।

‘क्रियाशील सदस्यता विधिवत रुपमा तल्लो तह वडा, पालिका, प्रदश हुँदै जिल्ला कार्य समितिबाट निर्णयसहित सिफारिस भएका ४ सय ६० सदस्यता खारेज गरिनु र कुनैपनि तहबाट सिफारिस नै नभइ स्वतः ३ सय २१ क्रियाशील सदस्यता थपिनुका साथै यस्ता थुप्रै खालका गम्भीर कमजोरी रहेका छन्’, मल्लद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला समितिसँगको सहमतिविपरीत वडा अधिवेशन सम्पन्न भएको घोषणा गरेको भन्दै मल्लले ‘कथित’ वडा अधिवेशन मान्य नहुने बताउनु भयो । उनले डडेल्धुराका ३ हजार बढी क्रियाशील कांग्रेस कार्यकर्ताहरु मंसिर १ देखिको आन्दोलनमा सहभागी हुने जानकारी दिनुभयो ।

122 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal