मन्त्री आलेको निर्देशनमा पर्यटन विभागको टेण्डर रद्द

२०७८ कार्तिक २९ गते, सोमबार

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सेटिङमा टेण्डर आह्वान गरेर एकै निर्माण व्यवसायीलाई ठेक्का दिन लागिएको उजुरीपछि पर्यटन विभागले गरेको तीनवटा टेण्डर रद्द गर्न निर्देशन दिएका छन् ।

मन्त्रीको निर्देशनलगत्तै पर्यटन विभागले ग्रेट हिमालयन ट्रेलका तीनवटा खण्डको निर्माण तथा स्तरोन्नति गर्ने सम्बन्धी टेण्डर रद्द गरेको महानिर्देशक तारानाध अधिकारीले बताएका छन् ।

सोमबार पर्यटनसचिव यादव प्रसाद कोइराला र पर्यटन विभागका प्रमुख तारानाथ अधिकारीलाई बोलाएर मन्त्री आलेले विगत चार-पाँच वर्षदेखि सधैँ दुईवटा निर्माण कम्पनीलाई मात्र मिल्नेगरी टेण्डर आह्वान हुने गरेको गुनासो आएको भन्दै कात्तिक ११ गते गरिएको टेण्डर रद्द गर्न निर्देशन दिएका थिए ।

मन्त्रालय स्रोतका अनुसार खानी निर्माण सेवा र सीएम कन्स्ट्रक्सन कम्पनीले मात्रै विभागको टेण्डर पार्ने गरेको र यसपटक पनि मिलेमतोमा उनीहरूलेमात्र पाउनेगरी प्रावधान घुसाइएको भन्दै मन्त्रीले ठेक्का रद्द गर्न भनेका हुन् ।

सचिव कोइरालाले विगतदेखि नै यसैगरि टेण्डर हुने भनेर जवाफ दिएपछि मन्त्री आलेले आफू विगतका अनियमिततालाई निरन्तरता दिन मन्त्री नभएको भन्दै पारदर्शीरूपमा सबै सहभागी हुन पाउनेगरी रिटेण्डर गर्न निर्देशन दिएको स्रोतले जनाएको छ ।

विभागले हिमालय ट्रेल निर्माणका लागि अलग अलग तीनवटा टेण्डर आह्वान गरेको थियो । जसमा धौलागिरी राउण्डको रुइसे डाँडादेखि धौलागिरी आइसफलसम्म एउटा छ ।

त्यस्तै ग्रेट हिमालय ट्रेल मनास्लु क्षेत्रको रुबिनाला फेदेखि हुँदै रुबिनाला पास(ठाडो बोराङ र सामागाउँ-वीरेन्द्र ताल हुँदै मनास्लु बेसक्याम्पसम्मको अर्को खण्डको लागि टेण्डर आह्वान भएको थियो ।

त्यस्तै बाजुराको बडिमालिका ट्रेकिङ ट्रेलको बोल्दे-फाइमा भण्डार गृह हुँदै मनागाउँको लागि अर्को टेण्डर आह्वान भएको छ । टेण्डरसम्बन्धी सबै प्रक्रिया विभागका इन्जिनियर सचिन्द्र यादवले मिलाउने गरेको बताइएको छ ।

यादवले भने टेण्डर भर्ने मिति १५ दिन बाँकी रहँदै कसले ठेक्का पार्छ भन्नु अनुमानित कुरामात्र भएको भन्दै कुनै ठेकेदारले मन्त्रीलाई उजुरी गरेपछि रद्द गर्न निर्देशन दिएको हुनसक्ने बताए । तीनवटै ट्रेलको विभिन्न कामको ठेक्का करीव १४ करोडको रहेको छ । ठेकेदारहरूले मिलेमतोमा ५ प्रतिशतमात्र छाडेर ठेक्का लिने गरेको मन्त्रालयमा उजुरी परेको छ ।

मन्त्री आलेले आफ्नो कार्यकालमा मन्त्रालयभित्र कुनै पनि अनियमितता, मिलेमतो स्वीकार्य नहुने बताएका छन् ।

198 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal