आफ्नो प्रमुख लक्ष्य धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न: मन्त्री आले

२०७८ पुष ५ गते, सोमबार

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमलगायत देशभरिमा रहेका पर्यटकीय क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको बताउनुभएको छ ।

डोटीको जोरायल गाउँपालिका २ बुडरमा आज सोमवार आयोजना गरिएको सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ को समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री आलेले धार्मिक तथा पर्यटकीय क्षेत्रका हिसाबले सुदूरपश्चिममा धेरै सम्भावना भएको र यहाँका पर्यटकीय, धार्मिक क्षेत्रको विकासका लागि अहोरात्र खटिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास मात्रै गर्न सके कायापलट हुने देखिन्छ, यहाँका धार्मिक र पर्यटकीय क्षेत्रको तीव्र रूपमा विकास गर्छु ।’

यहाँका पर्यटकीय क्षेत्रको विकाससँगै प्रचारप्रसारका लागि मन्त्रालयले उल्लेख्य मात्रामा लगानी गरेको बताउनुहुँदै मन्त्री आलेले सुदूरपश्चिमका प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रहरू खप्तड, रामारोसन, अपिसैपाल, बडीकेदारलगायतका ठाउँमा पर्यटक भित्र्याउनका लागि भौतिक पूर्वाधारसहितका निर्माण कार्य तीव्र रूपमा विस्तार भइरहेको बताउनुभयो । यहाँका पर्यटकीय क्षेत्रमा पर्यटकको सहजताका लागि मोटरबाटो, खानेपानीलगायतका सुविधाका लागि मन्त्रालयले पहल चालिरहेको समेत मन्त्री आलेले कार्यक्रममा जानकारी दिनुभयो ।

सुदूरपश्चिम वन तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोग तथा फारवेस्टर्न राइडर कल्बको सहकार्यमा यही पुस ३ गते कैलालीको धनगढीबाट पर्यटन साइकल यात्रा सुरु भइ डोटीको बुडरमा गएर आज समापन गरिएको हो ।

176 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal