माघ १२ गतेदेखि २२ गतेसम्म १२ औँ कपिलवस्तु महोत्सव हुँदै

२०७८ पुष १२ गते, सोमबार

चारनम्बर । बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशाला चार नम्बर जितपुरमा माघ १२ गतेदेखि २२ गतेसम्म हुने १२ औँ कपिलवस्तु महोत्सव तथा औद्योगिक प्रदर्शनीको तयारी सुरु भएको छ । कोरोनापछि कपिलवस्तुमा पहिलोपटक हुन थालेको महोत्सवलाई मुलुकमै नमुना बनाउन १ महिनाअघि देखि नै तयारी सुरु भएको हो ।

त्यसअन्तर्गत महोत्सवमा राखिने स्टल संख्याको सिमा निर्धारण गरिएको छ । यसपटक ३ सय ३० स्टल मात्र राखिने भएकाले आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघले स्टल दर्ता गर्न इच्छुक ब्यापारी र ब्यवसायीलाई आग्रह समेत गरेको छ ।

स्टल संयोजक मदन पौडेलले यसपटक सिमित स्टल राखिने भएका कारण चाँडै दर्ता गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँका अनुसार यसपटक कृषिका २५, स्थानीयरुपमा उत्पादित वस्तुको प्रदर्शनीको लागि १०, होटलका १०, अटोका २०, सुचना प्रविधिका १० गरी ३ सय ३० स्टल रहने छन् ।

स्टल दर्ताको लागि चारैतिरबाट फोन आइरहेकाले त्यो अनुसार ५ सय बढी स्टल रहने अवस्था भए पनि धेरै स्टल नराखी थोरै राखेर ब्यवसायीलाई फाइदा हुने गरी तयारी भइरहेको पौडेलले बताउनु भयो । अबको एकहप्ताभित्रै सबै स्टल बुकिङ भइसक्ने पौडेलको आंकलन छ ।
स्टल दर्ता गर्नेहरु ६० प्रतिशत रकम बुझाएको बैङ्क भौचर लिएर समयमा संघको कार्यालयमा आउनु पर्नेछ । उत्कृष्ट ३ स्टललाई समापनको अवसरमा पुरस्कृत गरिने पनि पौडेलले मायादेवी अनलाइनसंग बताउनु भयो ।

महोत्सवका संयोजक छवि रेश्मीका अनुसार यसपटक स्टलहरु विगतका भन्दा आकर्षक, आधुनिक र ब्यवस्थित रहने छन् भने मेलाअवधिभर सबै स्टलको विमा पनि हुने छ । स्टल सुरक्षाको लागि चारैतिर सिसिटिभी क्यामेरा जडान गरिने रेश्मीले बताउनु भयो ।

महोत्सव स्थलमा प्रवेश गर्ने क्रममा हरेक स्टलका कर्नरमा फोटोजोन, सेल्फी र टिकटक जोन बनाइनुका साथै शिव, बुद्ध लगायतका भगवानहरुको आकर्षक प्रतिमा राखिने संयोजक रेश्मीले बताउनु भयो ।

महोत्सवका निर्देशक एवम् संघका अध्यक्ष डोलकराम घिमिरेले व्यवसायीको फाइदाकै लागि स्टल संख्या कम राखिएको बताउनु भयो । उहाँले स्टल केवल ब्यापारको लागि मात्र नभएर समग्र कपिलवस्तुको परिचय र गरिमा बोक्ने गरी ब्यवस्थि गर्न सबैमा अनुरोध गर्नुभएको छ ।

अहिले महोत्सवको लागि बिभिन्न समिति उपसमिति बनाएर धमाधम काम भइरहेको छ । २ बर्षसम्म महोत्सव हुन नपाएकोमा दर्शकको लागि पनि यसपटक कपिलवस्तु महोत्सव कस्तो हुन्छ भन्ने ब्यग्र प्रतिक्षा छ ।

471 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal