मेलम्चीको पानी अस्थायीरुपमै भए पनि छिट्टै काठमाडौँ ल्याउँछौं : मन्त्री चौधरी

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले अस्थायीरुपमै भए पनि पानी छिटो काठमाडौँ ल्याउन लागिपरेको बताएका छन्।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएपछि बुधबार महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजित कार्यक्रममा मन्त्री चौधरीले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना साकार पार्न छिट्टै मेलम्चीको पानी राजधानीमा ल्याउन लागिपरेको बताएका छन्।
अस्थायीरुपमै भए पनि पानी छिटो काठमाडौँ ल्याउन लागिपरेको मन्त्री चौधरीले बताए। यसअघि पानी राजधानी आइपुगेका बेला पूर्वप्रधानमन्त्रीले मेलम्चीको सपनाअघि बढाउने पूर्वप्रधानमन्त्री भट्टराईको नामसमेत स्मरण गर्न नचाहनु अराजनीतिक घटना भएको टिप्पणी गरे।
पार्टीमा युवाको नेतृत्व स्थापित भएको उल्लेख गर्दै मन्त्री चौधरीले अबका दिनमा सबै तहमा युवा पुस्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। पार्टीका नेता कृष्णप्रसाद सिटौलाले व्यक्तिगत स्वार्थलाई त्याग गरी युवा पुस्तालाई अघि बढाउन भूमिका खेलेको उनको भनाइ थियो।
पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले पार्टीमा युवाको भूमिका महत्वपूर्ण बनाउनकै लागि आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताए। कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका महामन्त्री बलदेव तिमल्सिनालगायतले नयाँ सोच र दृष्टिकोणका साथ कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए।