पहाडी क्षेत्रको मौसम आंशिक बद्ली: बिस्तारै सुधार हुने क्रममा

२०७८ माघ १४ गते, शुक्रबार

काठमाण्डौ । अहिले देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भएको छ । तराईका केही भागमा हुस्सु र कुहिरो लागेको छ ।

देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली रहने अनुमान छ ।

ती क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ । केही दिनदेखि प्रभावित रहेको मौसम बिस्तारै सुधार हुँदै जानेक्रममा रहेको महाशाखाका मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

तराईको हुस्सु र कुहिरो हट्न भने केही दिन लाग्नेछ । चिसो कायमै रहेकाले जोगिन पनि महाशाखाले अनुरोध छ ।

यसैबीच चिसोका कारण हिमाली जिल्ला मनाङका गाउँबस्ती सुनसान बनेका छन् । चिसो छल्न मनाङका बासिन्दा काठमाण्डौ, पोखरा, चितवन, लमजुङ लगायतका जिल्लामा झरेका छन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार ५० प्रतिशतभन्दा धेरै नागरिक जिल्ला बाहिर गएकाले बस्ती सुनसान देखिएको छ । जिल्ला छाडेकाहरु माघको अन्तिम र फागुन पहिलो हप्ता गाउँ फर्कने गर्छन् ।

नागरिक नभए पनि सरकारी कार्यालय भने खुला रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

248 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal