आफ्नै नयाँ पार्टी खोल्दै वामदेव गौतम

२०७८ माघ १८ गते, मंगलवार

काठमाडौँ । नेकपा एमालेबाट अलग भएर केही समयदेखि स्वतन्त्र बसिरहेका नेता वामदेव गौतम आफ्नै नयाँ पार्टी खोल्ने तयारीमा छन् । एमालेको उपाध्यक्षबाट राजीनामा दिएपछि उनी न माधव नेपालले खोलेको एकीकृत समाजवादीमा समेत लागेनन् । अहिले आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गर्ने तयारीमा उनी जुटेको बताइएको छ ।

पूर्व–उपप्रधानमन्त्री समेत रहेका गौतम तत्कालीन नेकपा विभाजन हुन लाग्दा राष्ट्रिय एकता अभियानका संयोजक थिए । हाल राष्ट्रिय ​सभाका सदस्य रहेका गौतमले गौतमले यही माघभित्रै नयाँ पार्टी खोल्ने जानकारी गराएका छन् । तर पार्टीको नाम भने सार्वजनिक गरिएको छैन ।

पछिल्लो समय नेकपा एमाले समेत विभाजन भएपछि गौतम कुनै खेमामा लागेनन् । हुनत विगतमा गौतमले २०५४ सालमा तत्कालीन नेकपा एमालेबाट अलग भई नेकपा माले गठन गरेका थिए । त्यसको २०५८ मा पुनः एमालेसँगै एकता गरेका थिए ।

यसअघि नेकपा एमाले र माओवादी केन्द्रको एकता गराएर नेकपा बनाउन अहं भूमिका खेलेका गौतम २०७४ सालको संसदीय चुनावमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका थिए । तर पछि २०७७ मा उनलाई राष्ट्रिय सभामा मनोनित गरियो ।

147 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal