यसरी भयो एमसीसी टार्ने प्रचण्डको रणनीति असफल

२०७८ माघ २३ गते, आईतवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एमसीसीलाई चुनाव पछि धकेल्ने प्रयास असफल भएको छ । उनले विभिन्न रणनीतिमार्फत् एमसीसीलाई पछाडि धकेल्दै लान खोजेपनि अन्तत असफल भएका हुन् ।

एमसीसीबारे टुंगो दिन अमेरिकाले दबाब बढाएपछि प्रचण्डले शेरबहादुर देउवासँग संयुक्त पत्र लेखी चार या पाँच महिना कुर्न भनेका थिए । २९ सेप्टेम्बर २०२१ मा पत्र लेखेपनि प्रचण्डले अलमलाउन थाले । उनले संशोधनविना एमसीसी पारित गर्न नसकिने अभिव्यक्ति र पार्टीको राजनीतिक प्रतिवेदनमै उल्लेख गरे । यसबाट अमेरिका सतर्क भयो । देउवा पनि झस्किए ।

देउवाले बेलायत भ्रमणबाट फर्किदा प्रचण्ड र आफूले संयुक्त पत्र लेखेको खुलासा गरिदिए । पत्रमा एमसीसी पारित गर्ने भनेर पत्र लेखेको उल्लेख गरे । त्यसपछि प्रचण्डले पत्रको विषय लुकाउन खोजे । उनले खण्डन गरे । पछि पत्रमा पारित गर्ने विषय उल्लेख नगरेको भने ।

एमसीसी टुंगो लगाउने समयसीमा २८ फेब्रुअरी अर्थात् १६ फागुन नजिकियो । त्यसपछि अमेरिकाले दबाब बढायो । देउवाले पनि एमसीसी पारित गर्न दबाब सृजना गर्न थाले । प्रचण्डले भने एमसीसी संशोधनविना पारित नगर्ने बताउन थाले । उनले एमसीसीलाई थाती राखेर समयसीमा पछि पार्ने प्रयास थाले । चुनाव वैशाखमा गर्ने, अहिलेलाई एमसीसी थाती राख्ने सम्मको प्रस्तावहरु सारे । तर, देउवा तयार भएनन् ।

अन्ततः प्रचण्डले देउवालाई एमसीसीको पक्षमा जान नसक्ने जवाफ दिए । आज टेलिफोन वार्तामा गोप्य पत्रको खुलासाको विषय उठाए । उनले गठबन्धन छाड्ने तर एमसीसीको पक्षमा नजाने जवाफ दिए । यसरी प्रचण्डले एमसीसीलाई अलमलाउँदै चुनाव पछि धकेल्ने रणनीति बनाएका थिए । जुन सफल नहुने देखिएको छ । अब एमसीसीको टुंगो केही दिनमै हुने गरी देउवा अगाडि बढेका छन् । यसका लागि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग महत्वपूर्ण समझदारी गर्ने तयारी गरेका छन् ।

242 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal