‘एमसीसी सदनबाट टेबुल नगरे सभामुखविरुद्ध महाभियोग लगाउँछौं’: दीपक खड्का

२०७८ माघ २७ गते, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग सम्झौता पारित गराउनेगरि अघि बढेका छन् । उनले गठबन्धनमा आवद्ध दलका नेताहरुसँग यसबारेमा निरन्तर छलफल गरिरहेका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग प्रधानमन्त्री देउवाको लगातार छलफल चलिरहेको छ ।

तर, प्रचण्ड र माधव नेपालले यथास्थितिमा एमसीसी अघि बढाउन नसक्ने अडान लिएका छन् । बरु, उनीहरुले एमसीसी पास गराउने भए एमालेको साथ लिनपनि प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् ।

उता, प्रधानमन्त्री देउवाले पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँगको सहकार्य अघि बढाएका छन् । देउवाले एमाले अध्यक्ष ओलीसँग पनि एमसीसीबारे गम्भीर छलफल चलाएका छन् ।

एमाले सुरुदेखि नै एमसीसीको पक्षमा उभिँदै आएको छ । तर, एमालेले सत्ता गठबन्धन टुटाउनको लागि एमसीसीलाई राजनीतिक अस्त्रको रुपमा प्रयोग गरिरहेको चर्चा छ ।

प्रधानमन्त्री देउवासँगको एक्लाएक्लै भेटवार्तामा ओलीले एमसीसी पास गराउन आफूहरु सहयोग गर्न तयार रहेको तर त्यसको लागि गठबन्धन तोड्नुपर्ने शर्त राखेका छन् ।

पछिल्लो समय गठबन्धनमा आवद्ध दलहरु एमसीसीको विपक्षमा उभिन थालेपछि प्रधानमन्त्री देउवाले आफू गठबन्धन तोड्नपनि तयार रहेको तर एमसीसी कुनैपनि हालतमा पास गराउने अडान लिएका छन् ।

यो बीचमा प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्रसमेत बाहिरिएको छ । यो पत्र बाहिरिएसँगै प्रचण्डमाथि दबाब बढेको छ । तर, उनको पार्टीभित्र एमसीसीविरोधी जनमत छ ।

पुषमा सम्पन्न माओवादी केन्द्रको महाधिवेशनको म्याण्डेटपनि एमसीसीको पक्षमा छैन् । त्यसैले प्रचण्ड एमसीसीलाई लिएर अहिले ठूलो दबाबमा परेका छन् ।

कांग्रेसका नेताहरु भने एमसीसी पास गराउन गठबन्धनका नेताहरुले साथ नदिए एमालेको साथ लिएर पनि पास गराउने बताउन थालेका छन् ।

नेता दीपक खड्कालेपनि एमसीसी पास गराउनेगरि प्रधानमन्त्री देउवाले आफ्नो कदम चालेको दाबी गर्छन् । उनले एमसीसी सदनमा टेबुल नगरे सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग लगाएर हटाउनपनि सकिने सुनाए ।

पछिल्लो समय एमालेका नेताहरुले पनि सभामुखविरुद्ध महाभियोग लगाए आफूहरुले कांग्रेसलाई साथ दिने भनेर सार्वजनिक रुपमै भन्न थालिसकेका छन् । उता, लोसपाका युवा नेता केशब झाले पनि यही कुरा दोहोर्याएका छन्।

103 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal