चुनावका लागि एक लाख १८ हजार म्यादीको प्रस्ताव, पूर्वसुरक्षाकर्मीको खोजी सुरू

२०७८ माघ २८ गते, शुक्रबार

काठमाडौं । दुई वर्षअघि अवकाश भएका पूर्वकर्मचारीलाई विहीबार सशस्त्र प्रहरी बल (एपीएफ) हेडक्वार्टरको फोन आयो- म्यादी बन्ने हो ? सिन्धुपाल्चोक घर भएका ती पूर्वसुरक्षाकर्मीलाई एकछिन कसैले जिस्कायो कि भन्ने लाग्यो । तर, उनको अनुमान गलत रहेछ ।

स्थानीय निकायको निर्वाचनका लागि म्यादी प्रहरी नियुक्त गर्ने तयारी भइरहँदा सुरक्षा निकायले आफ्ना पूर्वकर्मचारीलाई फोन नै गरेर उनीहरूको रुचि बुझिरहेको छ ।

पछिल्लो १० वर्षमा अवकाश भएकालाई विशेष प्राथमिकता दिने गृहमन्त्रालयको तयारी छ । प्रहरी प्रधान कार्यालयले पनि मातहतका युनिटहरूलाई त्यसबारे जानकारी गराएर पूर्वकर्मचारीहरुलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेको छ ।

हामीले सबै जिल्लालाई परिपत्र गरेका छौँ’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने । म्यादी भर्नाको औपचारिक सूचना भने फागुनको पहिलो साता निकाल्ने गृहको तयारी छ । भर्ना हुन आवश्यक योग्यता, उमेर समूह, प्राथमिकतालगायतका कुरा सूचनामा खुलाइनेछ ।

एक लाख १८ हजार म्यादीको प्रस्ताव
वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सुरक्षाका लागि एक लाख १८ हजार म्यादी भर्ना गर्न प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई उक्त प्रस्ताव गरेको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानमा रहेको जनशक्तिका आधारमा आवश्यक पर्ने म्यादीको संख्या तय भएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । हाल नेपाल प्रहरीमा ७९ हजार, नेपाली सेनामा ९७ हजार, सशस्त्र प्रहरीमा ३७ हजार र राष्ट्रिय अनुसन्धानमा ३ हजारको दरबन्दी छ ।

म्यादी प्रहरीले जवानसरहको सेवा सुविधा पाउने छन् । उनीहरूलाई दुई महिनाका लागि नियुक्त गर्ने सरकारको तयारी छ ।

314 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal