६ पार्टी र २ मोर्चाले आज एमसीसीको विरुद्धमा प्रदर्शन गर्ने

२०७८ फाल्गुन ८ गते, आईतवार

काठमाडौं । ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज एमसीसीको विरुद्धमा प्रदर्शन गर्ने भएको छ ।

एमसीसी जस्तो सुकै अवस्थामा पनि खारेज हुनुपर्ने बताउदै उनीहरुले आज आइतबार संसद भवन घेराउ र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय गरेका हुन् ।

६ कम्युनिष्ट पार्टी नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहित २ मोर्चाले नेपालमा अहिले एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेका छन् ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषी कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल सहित २ मोर्चा लगायतले शनिबार बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

सो बैठकपछि शनिबार नै ६ पार्टी र २ मोर्चाले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाको हकमा आज आइतबार माइतीघर मण्डलाबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् । उनीहरुले नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै, सबै जिल्लामा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने समेत सो विज्ञप्तिमा भनिएको छ ।

226 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal