राष्ट्रिय सभाका २० सांसदको पदावधि आजदेखि सकियो

२०७८ फाल्गुन २० गते, शुक्रबार

काठमाडौं । राष्ट्रिय सभामा २० सांसदको पदावधि आजदेखि सकिएको छ। आज पदावधि सकिने संसदीय समितिका तीन सभापति पनि छन्।

दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारी र विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङ छन्।

त्यस्तै, कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता सांसद राधेश्याम अधिकारी, राष्ट्रिय सभामा माओवादी केन्द्र संसदीय दलका नेता दिनानाथ शर्मा, राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता सुमनराज प्याकुरेल रहेका छन्।

यस्तै एमालेका अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्र स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार सुमनराज प्याकुरेल गरी ८ जना छन्।

एकीकृत समाजवादीका चार सांसदको कार्यकाल सकिएको छ। उनीहरूमा उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवर छन्। माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका खिमकुमार विक, जीवन बुढा, दिनानाथ शर्मा र शशिकला दाहाल कार्यकाल सकिएको हो।

सरकारको नेतृत्व गरिरहेको कांग्रेसका तीन जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ। त्यसमा राधेश्याम अधिकारी, दृगनारायण पाण्डेय र तारादेवी भट्ट रहेका छन्। राष्ट्रपतिबाट मनोनीत रामनारायण विडारीको पनि कार्यकाल सकियो।

उनीहरुको विदाईका लागि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज साँझ ५ बजेका लागि सबै सांसदहरूलाई सिंहदरबार नजिकको एक होटलमा बोलाएका छन्। होटलमा हुन लागेको विदाइमा आफ्ना कुरा राख्ने सांसदहरूले बताएका छन्।

यसै गरी निर्वाचित १९ सांसदहरूको शपथ ग्रहण कार्यक्रम शनिबार २१ गते ११ बजे तय गरिएको छ। माघ १२ गते भएको राष्ट्रिय सभाका १९ सिटमा कांग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए।

एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह (गरिमा) निर्वाचित भएका छन् भने माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की छन्।

एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर आएका छन्।

116 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal