राष्ट्रिय सभाका सदस्यहरूद्वारा शपथ ग्रहण

२०७८ फाल्गुन २१ गते, शनिबार

काठमाडौँ । राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।

आज सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना सदस्य निर्वाचित भएका थिए ।

गत माघ १२ मा १९ सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसबाट गोपाल कुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए ।

यसैगरी माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहरा र मदन कुमारी शाह (गरिमा) निर्वाचित भएका थिए ।

नेकपा एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा पनि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

111 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal