परराष्ट्र सम्बन्ध र अर्थतन्त्र ध्वस्त हुन लाग्दा पनि सबै चुपचाप: अध्यक्ष ओली

२०७८ फाल्गुन २४ गते, मंगलवार

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र ध्वस्त हुन लाग्दा पनि सबै चुपचाप बसेको टिप्पणी गरेका छन्।

मानव अधिकार एलाइन्सको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले आफ्नो पालामा रूखको पात ओइलिएर खस्दा पनि ओली सरकारले गर्दा खसेको भन्दै रोइकराइ गर्नेहरू अहिले अर्थतन्त्र ध्वस्त हुँदा र परराष्ट्र सम्बन्ध बिग्रिँदा पनि चुपचाप बसेको आरोप लगाएका हुन्।

‘हाम्रो सरकार हुँदा रूखबाट पात खस्यो भने पनि आफूलाई दोष दिने बुद्धिजीवीहरू अहिलेको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थतन्त्र ध्वस्त बनाउँदा पनि चुपचाप बसेका छन्। मानिलिऊँ केही बिग्रिएकै छैन,’ उनले भने। पहिले सानो केही हुनेबित्तिकै छाती पिटीपिटी रुँदै कोकोहोलो मच्चाउनेहरू अहिले बोल्न नसकेको उनको भनाइ थियो।

अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई हाँडीघोप्टेको संज्ञा दिए। नेपालको नाम नलिइ उनले भने, ‘अहिले चार–पाँचजना फुटेपछि एकीकृत नाम राख्ने गरेका छन्। जो घोप्टे छ उसले समाजवादी नाम राख्छ, हाँडीघोप्टेले समाजवादी नाम राख्छ।’ उनले आफूहरू फेसनको नामको पछि नलाग्ने भन्दै बरु अर्थ र रूपान्तरणको पछि लाग्ने बताए।

ओलीले वर्तमान सरकार परमादेशबाट बनेको सरकार भएको आरोप दोहोर्‍याए। सरकार संसद्ले बनाउने भए पनि देशी, विदेशी शक्ति मिलेर परमादेशको वर्तमान सरकार बनाएको उनको आरोप थियो। मुद्दा जितेर सरकार बनाउने भए लोकतन्त्र नचाहिने उनको भनाइ छ। ‘एमाले आधुनिक, वैज्ञानिक तरिकाले हकअधिकार प्रत्याभूत गर्ने कुरामा विश्वास गर्छ, कहीँ कसैको गरिबी नहोस्, अभाव र असुरक्षा नहोस् भन्नका लागि संघर्ष गरिराखेको छ,’ उनले भने।

120 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal