आज देखि कपिलवस्तु सहित १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु

२०७८ फाल्गुन २८ गते, शनिबार

कपिलवस्तु । कपिलवस्तु लगाएत १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार आजदेखि कपिलवस्तु, झापा, बारा, लमजुङ, पर्वत, बाग्लुङ, मोरङ, दाङ, बाँके र कैलालीमा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदैछ ।


यी मध्ये झापा, बारा, लमजुङ, पर्वत र बाग्लुङमा दुई थरिका र मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा तीन थरिका औषधि खुवाइने छ । १० जिल्लाका ११४ स्थानीय तहका ६२ लाख ६३ हजार जनालाई औषधि खुवाइने छ । यसै बिच कपिलवस्तुको बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले आम औषधी सेवन अभियानमा सबै नागरिकलाई अनुरोध गर्नु भएको छ । उहाँले औषधी सेवन अभियानको उद्घाटन गर्दौ यस्तो बताउनु भएको हो ।

हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीले गराउँछ । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि यसको असर देखिने गर्छ । हात्तीपाइले रोग विरुद्धको औषधि खाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या देखिन सक्छ ।
यो सामान्य नै भएकाले नआत्तिन स्वास्थ्यकर्मीको सुझाव छ । यस्तै, यो औषधि दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुगेका सुत्केरी र खाली पेटमा भने खान हुँदैन ।

203 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal