निर्वाचनअघि नै वडाध्यक्ष र सदस्य निर्वाचित, कांग्रेसले खोल्यो खाता

२०७८ चैत्र ७ गते, सोमबार

काठमाडौ । हुम्लाको नाम्खा गाउँपालिकामा पर्ने लिमीका बासिन्दाले निर्वाचनअघि नै वडाध्यक्ष र सदस्यहरु चुनेका छन्।

चीनसँग सीमा जोडिएको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडाध्यक्ष र सदस्यहरु चुनेका हुन्।

वडाध्यक्षमा पाल्जोर तामाङ नै दोहोरिएका छन्। उनी नेपाली कांग्रेसका हुन्। त्यस्तै सदस्यमा जाङकी पुटी तामाङ, हल्जीकी छिरिङ टुङडुप र तिलका टुङडुप लामा चयन भएको स्थानीयवासी कुन्जोक तामाङले जानकारी दिए।

उनका अनुसार अब औपचारिकता पूरा गर्नका लागि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनीहरुको मात्रै मनोनयन दर्ता हुनेछ र निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ।

“गाउँलेहरुको भेलाले वडाध्यक्ष र सदस्य चुने र अब त्यसलाई प्रक्रिया पुर्याएर औपचारिकता दिन बाँकी छ”, उनले भने, “अघिल्लो स्थानीय तह निर्वाचनताका पनि त्यस्तै भएको थियो।”

५४१ मतदाता

नाम्खा गाउँपालिका–६ का तीन गाउँमा तीनवटा मतदान केन्द्र छन्। तीमध्ये सुनखानी आधारभूत विद्यालय हल्जीमा २२६, भृकुटी प्राथमिक विद्यालय जाङको मतदान केन्द्रमा २०५ र हिमशिखर प्राथमिक विद्यालय तिलमा ११० गरेर कूल ५४१ मतदाता सङ्ख्या छ।

बर्सेनि बैठक मङ्सिरमा

हरेक वर्ष लिमी गाउँका नागरिकको बैठक मङ्सिरमा बसेर महत्त्वपूर्ण निर्णय गर्ने गरेका छन्। मङ्सिरको अन्तिममा महत्त्वपूर्ण निर्णय गर्न ३ गाउँको संयुक्त बैठक बस्छ। यो पटकको बैठकको एकमात्रै एजेन्डा आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्नु थियो। ​

गाउँलेको भेलाले दोस्रो कार्यकालका लागि लामालाई सर्वसम्मत् वडाध्यक्ष चयन गरेका छन्। स्थानीयको आफ्नै नीति(नियम छ। तीन गाउँको भेलाले गरेको निर्णयविपरीत यहाँ कोही जाँदैनन्।

स्थानीयका अनुसार गाउँलेले चुनेको अध्यक्ष फरक हुन्छ भने सरकारी कामकाज र प्रक्रियाका लागि छुट्टै अध्यक्ष चयन हुन्छ। सरकारी कामकाजका लागि चुनिने अध्यक्ष पनि गाउँले चुनेको अध्यक्षको निर्देशनानुसार चल्नुपर्छ।

236 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal