पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न राष्ट्रपतिको जोड

२०७८ चैत्र ८ गते, मंगलवार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व पानी दिवस २०२२ को अवसरमा शुभकामना दिँदै पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भनी कामना गरेकी छन् ।

समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृति प्रदत्त वरदानका रुपमा रहेको पानीको महत्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्र संघको अह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व समुदायले पानी दिवसका रुपमा मनाउँदै आएको छ ।

नेपालमा पनि यस वर्ष ‘भूमिगत जलस्रोतको महत्व बुझौँ, सबैले मिली संरक्षण गरौँ’ भन्ने राष्ट्रिय संकल्पका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाउने गरिन्छ ।

“पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरु नदी किनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ,” राष्ट्रपति भण्डारीद्वारा जारी सन्देशमा भनिएको छ,“भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा हो । जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न, नदीहरुको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिवर्तन गर्न मद्धत गर्दछ ।”

“बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश एवम् प्रदूषणका कारण यस्ता स्रोतहरु नष्ट भइरहेका छन् । भविष्यमा आउनसक्ने जलसंकटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामिण भेगमा आहाल, पोखरी र तालतलैयाको निर्माण गर्ने जस्ता परम्परागत विधिको संवर्द्धन गर्नुपर्दछ,” सन्देशमा भनिएको छ ।

248 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal