बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँच दिने अल्टिमेटम

२०७८ चैत्र ११ गते, शुक्रबार

काठमाण्डौ । पर्यटन विभागले सरकारलाई बुझाउनु पर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँच दिने अल्टिमेटम दिएको छ । विभागले पाँच दिनभित्र ९० करोड ५५ लाख ७६ हजार रुपैयाँ बक्यौता बुझाउन अल्टिमेटम दिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बक्यौता रकम असुल गराउनका लागि अल्टिमेटम दिन बुधवार मन्त्रिस्तरीय निर्णय गर्नुभएसँगै तीन क्यासिनो कम्पनीलाई अल्टिमेटम दिइएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, मन्त्री आलेले मन्त्रिस्तरीय निर्णय गरी बक्यौता बुझाउनका लागि अल्टिमेटम दिने निर्णय गर्नुभएको छ, हामीले रकम बुझाउन पाँच दिनको सूचना प्रकाशन गरेका छौँ, नबुझाए कारबाही हुन्छ ।

विभागले एक सार्वजनिक सूचना प्रकाशन गरी रक इन्टरनेशनल प्रालि काठमाण्डौको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाण्डौको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्‍याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड रुपैयाँ बक्यौता रहेको छ ।

ती कम्पनीहरुले पाँच दिन भित्रमा बक्यौता रकम नबुझाए कानुनी कारबाही हुने विभागले जनाएको छ । आर्थिक वर्ष २०७६,०७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार रुपैयाँ उठाउन बाँकी रहेको छ । अहिलेसम्म १७ वटा कम्पनीले रोयल्टी बुझाइ सरकारको खातामा ८७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

296 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal