गठबन्धनका दलहरुले एमालेसँग एक्लै भिड्न त कुरै नगरौं, आखाँ जुधाएर हेर्न पनि सक्दैनः नेता बस्नेत

२०७८ चैत्र २१ गते, सोमबार

बैजनाथ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सत्तारुढ गठबन्धनका दलहरुले एमालेसँग एक्लै भिड्न नसक्ने दावी गर्नुभएको छ ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी तथा जनमोर्चाले एमालेसँग एक्लै एक्लै भिड्ने हिम्मत नभएको उल्लेख गर्दै उहाँले गठबन्धनका दलहरुले एमालेसँग आगामी तीन वटै तहको निर्वाचनमा एक्लै एक्लै भिड्न नभई आँखा जुधाएर हेर्न समेत नसक्ने बताउनुभयो । राष्ट्रिय युवा संघ नेपाल बैजनाथ पालिका कमिटीको प्रथम ऐतिहासिक अधिवेशनमा बोल्दै नेता बस्नेतले माओवादी, नेकपा एस, जसपा तथा जनमोर्चालगायतका दलहरु कांग्रेसको केन्द्रीय कार्यालयमा गई निर्वाचनमा जिताइदिनको लागि झोला थापिरहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी तथा जनमोर्चालगायतका पार्टीले कांग्रेसको केन्द्रीय कार्यालयको ढोकामा गई झोला थापिरहेका छन् । सहयोग मागिरहेका छन् । कांग्रेसीहरुले कान्छी औंला दिनुभएन भने चुनावमा बैतर्नी तर्न सक्दैनौं । कुन वेला कांग्रेसले पुच्छर देला र पुच्छर समाएर स्थानीय तहको निर्वाचन जितौंला भनेर प्रचण्ड, माधव, उपेन्द्र लगायतका नेताहरु पछि लागिरहेका छन् । यसबाट के प्रष्ट हुन्छ भने, नेकपा एमाले यो धर्तिको सवैभन्दा ठूलो पार्टी, शसक्त पार्टी हो । एमालेले कांग्रेसलाई सिङ्गल सिङ्ग लड्न चुले निम्तो दियौं तर कांग्रेसले हामीसँग लड्न डरायो । हामीलाई के लागेको थियो भने, बलियो नै होला भन्ने लागेको थियो । तर कांग्रेस लडेको रहेछ, घाइते रहेछ, कांग्रेसको खुट्टामा चोट लागेको रहेछ । त्यही भएर कांग्रेस एकातिर प्रचण्ड, एकातिर माधव नेपाल, एकतिर उपेन्द्र यादवको बैशाखी टेकेर नेकपा एमालेसँग लड्न खोज्दै छ । म कांग्रेसलाई चुनौति दिन चाहन्छु, बैशाखी टेकेर आएका कांग्रेस आगामी निर्वाचनमा हार्दैछ, लड्दैछ । पाँच दलीय गठबन्धन एमालेसँगै एक्लै भिड्न त कुरै नगरौं आखाँ जुधाएर हेर्न पनि नसक्ने भएका छन् ।’

एमालेको नेतृत्वकालमा सरकारले राष्ट्रियता र देभक्तिको लागि खेलेको भूमिकालाई हेरेर जनताले साथ दिइरहेको उल्लेख गर्दै उहाँले भुगोलले मुलुक सानो ठूलो भएता पनि राष्ट्रियताको सवालमा समान हैसियत स्थापीत गराउन एमालेका अध्यक्ष केपी ओलीले स्थापीत गराउनुभएको मान्यतालाई वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले लत्याएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘केपी ओली भारत भ्रमण जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एयरपोर्टमा नै स्वागत गर्न आउनुभएको थियो । समान हैसियतको व्यवहार भएको थियो तर अहिलेका प्रधानमन्त्री भारत जाँदा त्यहाँका राज्यमन्त्रीले स्वागत गर्नुभयो । त्यसबाट के बुझ्न सकिन्छ भने भारत तथा चाइना जस्ता मुलुकहरुले कांग्रेसलाई चाहेका छैनन् । भारत तथा चाइनाले समेत नेपालको विकास र समृद्धिको डिल गर्न एमाले नै खोजिरहेका छन् । किन भने उनीहरु राजनीतिक स्थिरता चाहन्छन्, आफ्नो देश विरुद्ध कुनै पनि अन्य मुलुकले नेपाललाई प्रयोग नगरोस् भन्ने चाहन्छन् । यो सवै कुराको नेतृत्व एमालेले मात्र गर्न सक्छ भन्ने विश्वास लिएका छन् । त्यसैले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर मुलुकको नेतृत्व गर्दै छिमेकी देशहरुसँग सहकार्य गरी अगाडी बढ्ने कुरामा भारत तथा चाइनाले बुझेको छ । प्रतिक्षामा बसेका छन् ।’

370 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal